उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

  ०७४ मङ्सिर १५ गते

प्रतिनिधि सभाका लागि सिरहा क्षेत्र नं. २ मा वाम गठबन्धनबाट (नेकपा माओवादी केन्द्र) का उम्मेदवार सुरेशचन्द्र दास यादवको करेसाबारीमा मङ्सिर १४ गते राति शक्तिशाली विष्फोट भएको छ ।

भारतसँग सीमा जोडिएको औरही गाउँपालिका-५ औरहीस्थित घरको पछाडिपट्टि करेसाबारीको पर्खालमा राति साढे ८ बजेतिर विष्फोट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालका अनुसार विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको छ । विष्फोट स्थलमा प्रेसरकुकर बमको रिमोट भेटिएको डिएसपी भेटवालले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यसैगरी सङ्घीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका राजलाल यादव चढेको जीपलाई लक्षित गरी मङ्सिर १४ गते राति गोली प्रहार भएको छ ।

चुनाव प्रचारप्रसार सकेर राति नौ बजेतिर भगवानपुर गाउँपालिका-३ स्थित घर फर्कने क्रममा गाउँ प्रवेश गर्नु अगावै जीपको पछाडिपट्टिबाट गोली प्रहार भएको उम्मेदवार यादवले बताए ।

उनका अनुसार गोली प्रहारबाट जीपको पछाडिको सिसा फुटेको भएपनि जिपमा रहेका यादवसहित अन्य व्यक्तिलाई केही नभएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालले जीपको पछाडिको सिसा फुटे पनि गोली प्रहार भए नभएको सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।


दुर्गा परियार