उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

  ०७४ मङ्सिर ८ गते

उदयपुरगढी गाउँपालिका-८ नरेटारमा वाम गठबन्धनका उमेदवार शुरेस राई (हिमाल)लाई लक्षित गरी अज्ञात समूहले मङ्सिर ८ गते साँझ बम विष्फोट गराएको छ ।

उदयपुरगढी गाउँपालिका-७ नेपालटार बजारको चुनावी सभालाई सम्बोधन गरी फर्कदै गरेका प्रतिनिधि सभा क्षेत्रनं २ का उम्मेदवार राईलाई लक्षित गरी बम विष्फोट गराइएको हो ।

बम विष्फोट भएपनि घटनाको प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले उदयपुरगढी गाउँपालिका-७ नरेटार नजिकको पौवाखोला किनारामा बम पडकिएको खबर आएपनि यथार्थ जानकारी नआएकाले बुझ्ने काम भइरहेको बताए ।

उनले भने-'उम्मेदवारसँग रहेका सुरक्षाकर्मीले आवाज सुनेको खबर आएको छ । बम हो वा अरू केही हो भन्ने एकिन छैन । बुझ्ने काम भइरहेको छ ।'

प्रहरीले घटनास्थललाई घेरा हाली खोजी कार्य जारी रहेको जनाएको छ । उम्मेदवारलाई लक्षित गरी बम राखिएपनि बम उम्मेदवार पुग्नु अगावै पडकिएको थियो ।

उम्मेदवार घटनास्थल पुग्न १ किलोमिटर बाँकी छँदै बम पडकिएको थियो । राईसँग प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनकै उमेदवार नारायण बुर्जा मगर रहेका थिए ।


भरत खड्का