उपल्लो डोल्पामा खाद्यन्न सङ्कट

  ०७६ माघ २८ गते

उपल्लो डोल्पाका खाद्य संस्थानका डिपोमा चामल अभाव भएपछि त्यस क्षेत्रका सिमानामा रहेका गाउँमा खाद्यन्न सङ्कट भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

उपल्लो डोल्पामा पर्ने छार्काताङसोङ, डोल्पोबुद्ध, शे फोक्सुण्डो र काइके गाउँपालिकामा खाद्य सङ्कट भएको नेपाल खाद्य कम्पनीको डोल्पा शाखा कार्यालयले जनाएको छ ।

काइके गाउँपालिकाको शहरतारा बिक्री केन्द्रका लागि एक हजार आठ सय क्वीन्टल चामल पठाइएको भएपनि सबै बिक्री भएको छ । त्यस्तै डोल्पोबुद्ध गाउँपालिकाको तिन्जे बिक्री केन्द्रमा चार हजार ५ सय क्वीन्टल चामल पठाइएकोमा सबै बिक्री भइसकेको नेपाल खाद्य कम्पनीको डोल्पा शाखाले जनाएको छ ।

हाल उपल्लो डोल्पाका खाद्य कम्पनी डिपोमा चामल मौज्दात छैन । उपल्लो डोल्पामा चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै प्रत्येक वर्षको भदौको दोस्रो हप्तामा चामल ढुवानी गर्नुपर्ने भएकाले ढुवानीमा चुनौती रहेको छ । चीन सरकारबाट रुटको अनुमति मागेर काठमाण्डौबाट तातोपानी भन्सारहँुदै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता रहेकाले पनि उपल्लो डोल्पामा खाद्यन्न सङ्कट हुने गरेको खाद्य कम्पनीका कमलराज पाण्डेले बताउनु भयो । हवाई मार्गबाट ढुवानी गर्दा महङ्गो पर्ने भएकाले उपल्लो डोल्पामा खाद्यान्न ढुवानी कार्य हरेक वर्ष अवरुद्ध हुने गरेको छ । हिमपातका कारण अहिले जाने बाटो अवरुद्ध हुँदा अव आउदो असारमा मात्र खाद्यन्न पठाउन सकिने संस्थानले जनाएको छ ।

भुगोलका हिसावले तीन भागमा विभाजित डोल्पामा कतै खाद्यन्नको चरम अभाव छ त कतै खाद्य डिपोहरूमा चामल बिक्री नभएर थन्किएको छ । यातायातको पहुँच नभएको र भारी हिमपातका कारण उपल्लो डोल्पाका दुई बिक्री केन्द्रमा चामलको अभाव भएको समयमा तल्लो र मध्य डोल्पामा नेपाल खाद्य कम्पनीबाट बिक्री गरिने चामलको मुल्य बजारमा पाइने चामलको भन्दा बढी भएकाले बिक्री नभएर थन्किएको छ । कम्पनीले मोटा चामल ४६ रुपियाँ, सोना मन्सुली चामल ५४ रुपियाँ, जिरा मसिनो ६१ रुपियाँ र जापानीज चामल प्रतिकिलो ४४ रुपियाँमा बिक्री वितरण भइरहेको जनाएको छ । यो मुल्य बजार मुल्य भन्दा बढी रहेको छ ।

अहिले दुनै गोदाममा बिक्री नभएर तीन हजार क्वीन्टल चामल मौज्दात छ । कम्पनीको डिपो पाएक पर्ने स्थानमा नहुँदा गाउँमै ढुवानीको पहुँच बढेसँगै स्थानीय बजारमा पाइने चामल बिक्री दर बढेको छ । कम्पनीबाट घरसम्म चामल ढुवानी खर्चलाई जोड्दा खाद्य कम्पनीको चामल भन्दा स्थानीय बजारमा पाइने चामल सस्तो पर्न जाने भएकाले पनि आफूहरू खाद्य कम्पनीमा नगएर स्थानीय बजारबाटै चामल किनेर खाने गरेको मुड्केचुला गाउँपालिका–६ नर्कुका प्रेम शाहीले बताउनु भयो ।

 


विष्णु प्रसाद देवकोटा