उपल्लो डोल्पाका स्वास्थ्य संस्थामा न औषधि न चिकित्सक !

  ०७६ माघ २९ गते

उत्तरी सिमा क्षेत्रसँग जोडिएका उपल्लो डोल्पामा पर्ने तीन ओटा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ ।

शे फोक्सुण्डो गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो । शेफोक्सुण्डो गाउँपालिका–३ र ८ मा पर्ने साल्दाङ्गस्थित निजालमा रहेको स्वास्थ्य चौकी र फोक्सुण्डो स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो ।

फोक्सुण्डो ताल हेर्न जाने पर्यटकीय पद मार्गमा पर्ने चुनुवारस्थित फोक्सुण्डो स्वास्थ्य चौकीमा मङ्सिरको अन्तिम हप्तादेखि नै औषधि सकिएको स्वास्थ्य चौकीका इन्चार्ज नवराज महताराले बताउनु भयो ।

औषधि सकिएको जानकारी आफूले गाउँपालिका अध्यक्ष टसिटुण्डुप गुरुङ्गलाई जानकारी गराई सकिएको भएपनि माघ २९ गतेसम्म नपुगेको महतराले बताउनु भयो ।

जिल्ला अस्पताल दुनैका प्रमुख सिजन रावलले आफूसँग मौज्दात रहेको औषधि मध्येबाट केही औषधि खवर आउने वित्तिकै पठाइएको जानकारी दिनु भयो । स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि खरिददेखि कर्मचारी व्यवस्थापनसम्मको काम स्थानीय तहले नै गर्ने र बजेट पनि त्यतै जाने भएकाले हामिले त आकस्मिक रुपमा मात्र औषधि उपलब्ध गराउने गरेकाले अहिले के कस्तो अवस्था छ ? आफूलाई जानकारी नभएको र औषधिको माग पनि नआएको डाक्टर रावलले बताउनु भयो ।

यसैगरी सालदाङ्गमा पनि औषधि अभाव भएको खवर आएको तर औषधि लिन नआएकाले छुट्याइएको औषधि पनि जनस्वास्थ्य कार्यालयमै थन्किएको डाक्टर रावलको भनाई छ ।

सालदाङ्गस्थित सदरमुकामदेखि चार दिनको पैदल दुरीमा पर्छ । हिमपातले बाटोघाटो विग्रेकाले पनि मानिस नआएको हुन सक्ने उहाँको भनाई छ । गाउँपालिका अध्यक्ष टसिटुण्डुप गुरुङ्गले औषधि अभाव भएको खवर पाउने वित्तिकै खरिद गरेर पठाइएको बताए ।

औषधि पठाएका छौ हिमपात र जाडोका कारण पनि जनप्रतिनिधिदेखि कर्मचारी समेत काठमाण्डौमै भएकाले पनि सम्बन्धित ठाउँमा पुग्न समस्या भएको हो ।

शे फोक्सुण्डो गाउँपालिका अन्तरगतका दुई स्वास्थ्य चौकीहरुमा पारासिटामोल, जीवनजलसम्म पनि नभएको शे फोक्सुण्डो–८ रिग्मो गाउँका पेम्बा छेवाङ्ग गुरुङ्गले बताउनु भयो । यसैगरी डोल्पोबुद्ध गाउँपालिकाको तक्सी उपत्याकामा रहेको धो स्वास्थ्य चौकीमा पनि सरकारले निशुल्क उपलब्ध गराउने औषधिको अभाव छ ।

त्रिपुराकोट स्वास्थ्य चौकीका इन्चार्ज तुलबहादुर श्रेष्ठका अनुसार सरकारले निशुल्क रुपमा उपलब्ध गराउदै आएको टेट्रा साइक्लिन, जेभी पाउडर, एम सि पाउडर, स्प्रिट, टिन्चर, भिटामिन वि कम्लेक्स, ल्वाङको तेल, आइक्रोफिन, क्यालामाइन लोसन, म्याग्नेसोयम सल्फेट, अक्सिटोसीन, वेन्जाइल वेन्जोइन, पारासिटामोल, जिन्क र ओरामाइन भ्यालेट लगायतका तीस प्रकारका औषधीहरुको अभाव छ ।

यसैगरी लिग्नोकेन, आइब्रप्रोफिन, क्लोरफेनिरामाइन, फेरामाइन, मेट्रोनिडाजोल, एमोक्सिलिन, सल्फामिथोजोल, डोक्सिसाइक्लिन, नियोमायसिन स्किन, फेरस सल्फेट, एड्रिनलिन र जेन्सन भ्यालेट नामका निशुल्क पाइनु पर्ने औषधि नहुँदा सर्वसाधारण मेडिकलबाट महङ्गो मुल्यमा किन्न बाध्य छन् ।

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, छार्काताङसोङ र शे फोक्सुण्डो गाउँपालिकामा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी, धो स्वास्थ्य चौकी र छार्का स्वास्थ्य चौकीहरूमा औषधि अभावका साथै जाडो बढेसँगै सदरमुकाम र नेपालगञ्ज लगायतका शहरमा झरेका चिकित्सक समेत नफर्केकाले स्वास्थ्य चौकीहरू औषधिसँगै स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण समस्यामा परेको डोल्पोबुद्ध गाउँपालिकाका ग्याल्पो भोटेले बताउनु भयो ।
upallo dolpa dolpa dho


विष्णुप्रसाद देवकोटा