उपल्लो डोल्पाका स्वास्थ्य संस्थामा औषधिको अभाव

  ०७६ साउन २३ गते

उपल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरूमा औषधिको अभाव भएको छ ।

सेफोक्सुण्डो गाउँपालिका वडा नम्बर १ र ४ मा पर्ने साल्दाङ्गस्थित स्वास्थ चौकी र फोक्सुण्डो स्वास्थ्य चौकीमा दुई सातायता पारासिटामोल, जीवनजल लगायत औषधिको अभाव भएको हो ।

फोक्सुण्डो ताल हेर्न जाने पदमार्गमा पर्ने चुनुवारस्थित फोक्सुण्डो स्वास्थ्य चौकीमा साउनको पहिलो हप्तादेखि नै औषधि सकिएको स्वास्थ चौकीका इञ्चार्ज नवराज महताराले जानकारी दिए ।

औषधि सकिएको बारेमा आफूले गाउँपालिका अध्यक्ष टसिटुण्डुप गुरुङ्गलाई जानकारी गराएको महताराले बताए ।

जिल्ला जनस्वास्थ्य, कार्यालय दुनैका प्रमुख रनलाल कुलालले मौज्दात रहेको औषधि पठाइसकिएको बताए ।

उनले स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा औषधि खरिददेखि कर्मचारी व्यवस्थापनसम्मको काम स्थानीय तहले नै गर्ने भएकाले कार्यालयले आकस्मिक रूपमा मात्र औषधि उपलब्ध गराउने गरेको बताए ।

यसैगरी सालदाङ्गस्थित स्वास्थ चौकीमा पनि औषधि अभाव भएको खबर आएको तर स्वास्थचौकीबाट औषधि लिन नआएकाले छुट्याइएको औषधि पनि जनस्वास्थ्य कार्यालयमै थन्किएको कार्यालय प्रमुख कुलालले बताए ।

सालदाङ्गमा रहेको स्वास्थचौकी पुग्न सदरमुकामदेखि चार दिनको पैदल यात्रा गर्नुपर्छ । वर्षात्को समय बाटोघाटो बिग्रेकाले पनि औषधि लिन नआएको हुन सक्ने कुलालले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष टसिटुण्डुप गुरुङ्गले औषधि अभाव भएको खबर पाएपछि सो गाउँपालिकाको औषधि नेपालगञ्जसम्म ल्याइसकिएको र प्रतिकूल मौसमका कारण हवाइसेवा नियमित नभएकाले समयमा पुग्न नसकेको टेलिफोन मार्फत जानकारी दिए ।

सेफोक्सुण्डो गाउँपालिका अन्तर्गतका दुई स्वास्थ्य चौकीमा पारासिटामोललगायतका सामान्य औषधि पनि नपाइएको सो गाउँपालिका–८ रिग्मो गाउँका पेम्बा छेवाङ्ग गुरुङ्गले बताए ।


विष्णुप्रसाद देवकोटा