उपप्रमुख नेतृत्वको टोलीले नगरपालिकामा तोडफोड

  ०७६ असार ८ गते

औरही नगरपालिकाको कार्यालय भित्रमा असार ७ गते राति  तोडफोड गरिएको छ । औरही नगरपालिकामा असार ७ गते राति नगर उपप्रमुख रेणु झाको नेतृत्वमा गएको टोलीले नगरपालिकाको कार्यालय भित्र तोडफोड गरेको बताइएको छ ।

तोडफोडको क्रममा योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई शाखामा दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान विद्युतीय मल्टिप्लग बोर्डमा क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार असार ७ गते साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रूपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेका छन् ।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारीहरू शनिबार काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररूप लिएको इन्स्पेक्टर किशोर आचार्यले जानकारी दिए ।

कामको चापले गर्दा शनिबार पनि काम गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै इन्स्पेक्टर आचार्यले बताए ।

सोही क्रममा उपप्रमुख पक्षको राजपा नेता ज्ञानु झा घाइते समेत भएका छन् ।  उनको उपचार स्थानीय क्लिनिकमा भइरहेको छ ।

असार मसान्तको समयमा पनि कार्यालयमा नियमितरूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजना अनुसारको कामकाज समयमा नै सम्पन्न हुन नसकेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

photo20190623mahottari


अजयकुमार साह