उपनिर्वाचनलाई लक्षित गर्दै विद्यालयमा निर्वाचन परिचालन कमिटी गठन

  ०७६ मङ्सिर ७ गते

देशमा यतिबेला उपनिर्वाचनको माहोल छ । विभिन्न कारणले रिक्त हुन पुगेका सङ्घ, प्रदेश र स्थानीय तहका पदपूर्तिको लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता पनि लागु भएको छ ।

उपनिर्वाचनमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने सामान्य आचरणमा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउन नहुने भनेर उल्लेख गरिएको भएपनि बागलुङको क्षेत्र नम्बर २ को (ख) मा नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी सङ्गठनले विद्यालयमा उपनिर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन कमिटी गठन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्वीयूले बागलुङ क्षेत्र नम्बर २ को निसी भुजी जनता क्याम्पसमा मङ्सिर ५ गते चुडामणि सापकोटाको संयोजकतामा २५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

त्यस्तै मङ्सिर ५ गते नै निसिखोला गाउँपालिकाको ज्ञानेन्द्र माध्यामिक विद्यालयमा भिजन मगरको संयोजकत्वमा १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी र मङ्सिर ६ गते प्रभा माध्यामिक विद्यालय निसिखोलामा १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

समिति गठन कार्यक्रममा साविक अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय सदस्य जीवन शर्मा, अनेरास्ववियू (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस काठमाडौँका अध्यक्ष महेन्द्र चन्द, धौलागिरी बहुमूखी क्याम्पस बागलुङका अध्यक्ष विकास कँडेललगायतको उपस्थिति रहेको थियो ।

मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले निर्वाचन अधिकृतको कार्यालयमा कुनैपनि उजुरी नआएको बताउनुभएको छ ।


सिर्जना पन्त