उपचार सहयोगको लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह

  ०७३ कात्तिक ३० गते 

पशुपतिनगर-४ का ज्येष्ठ नागरिक दम्पतीले उपचार सहयोगका लागि पहल गरिदिन इन्सेकका महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहसँग आग्रह गरेका छन् ।

दृष्टिविहीन ६७ वर्षीय बहादुर महतो, पत्नी ६३ वर्षीय मनतोरीता देवी महतो र ती दम्पतीका छोरा ३८ वर्षीय दुःखी महतो उपचार अभावमा पीडित भएकाले सहयोग जुटाइदिन इन्सेककर्मीसँग उनीहरूले आग्रह गरेका हुन् । बहादुरका एक मात्र छोरा दुःखी महतो जन्मजात नै अपाङ्ग छन् ।

पाँच वर्षदेखि आफू दृष्टिविहीन भएपछि महतो परिवार थप आर्थिक चपेटामा परेकाले सहयोगी हात खोजिदिन आफूसमक्ष आग्रह गरेको इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहले बताए ।

पिसावसम्बन्धी समस्याले थाला परेका बहादुर भन्छन्-'के गर्ने आँखा देखिँदैन । बाँचेपनि मरेको झैँ लाग्छ मलाई ।'

'पानी पर्दा घरको छानो चुहिन्छ । घाम लाग्दा प्रकाश भित्रै छिर्छ ।'-मनतोरीयाले कात्तिक २९ गते इन्सेककर्मीसँगको भेटमा भनिन्-'नसोध्नुस् बावु ! घरको टाटी पानीले खत्तम बनाइसक्यो । सर्प, बिच्छी ओछ्यानमै आउँछन् ।' उनले भनिन्-'बाबु कसैले घर बनाइदिए हुन्थ्यो । खान मागेर पनि खाइन्छ । ओत लाग्ने ठाउँ त चाहियो नि !'

६ वर्षपहिले मनतोरीयाले गाउँकै साहुसँग लिएको १३ हजार रुपियाँ ऋण तिर्न नसक्दा उनको ६ कठ्ठा खेती योग्य जमिन साहुले आफ्नो बनाएपछि उनको पीडा झन बल्झिँदै गएको छ ।

मनतोरीयाले छोरा दुःखीले राज्यबाट पाउने समाजिक सुरक्षा भत्ताकै भरमा घरपरिवार चल्दै आएको बताइन् । उनी भन्छिन्,-'जसलाई ममता लग्छ उनीहरूले नै खानेकुरा र लुगाहरू हामीलाई दिन्छन् ।'

photo20161115mahottari photo20161115mahottari1 photo20161115mahottari2 photo20161115mahottari3 photo20161115mahottari4 photo20161115mahottari5


इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय, काठमाडौँ