उपचार गर्छु भन्दै पेट चिरेको आरोपमा झाँक्रीविरूद्ध प्रहरीमा उजुरी

  ०७६ भदौ २६ गते

नीलकण्ठ नगरपालिका-९ का ३९ वर्षीय राजु मगरलाई नीलकण्ठ नगरपालिका-३ धादिङबेसीका ५५ वर्षीय झाँक्री गजबहादुर लामाले भदौ १५ गते उपचाको नाममा पेटमा व्लेडले काटी घाइते बनाएको आरोपमा पीडित पक्षले भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

दुई महिनादेखि जण्डिसले थलिएका पीडित मगरलाई धादिङबेसीमा झारफुकको काम गर्दै आएका आरोपित लामाले भदौ १५ गते तान्त्रिक विधिबाट शरीरमा भएको बिकार निकाली जण्डिस रोग निको पारिदिने भन्दै पीडितलाई लिएर झाँक्रीकोमा पुगेका पत्नी र बहिनीलाई कोठा बाहिरै बस्न लगाएर मगरलाई कोठामा राखी पेटमा व्लेडले चिरी रगत चुसेको र केही रगत भाँडामा समेत राखेको पीडित पक्षको आरोप छ ।

घटनापछि उपचारका लागि भदौ २० गते काठमाडौँको पिपल्स मेडिकल कलेजमा भर्ना भएका पीडित मगरलाई अस्पतालले झाँक्रीले पारेको घाउको उपचार गराउन नसक्ने जनाएको थियो ।

अस्पतालले पीडितको पेटमा जमेको पानी निकालेर उनलाई भदौ २३ गते रिफर गरेपछि पुनः भदौ २४ गते उपचारका लागि जिल्ला अस्पताल धादिङमा भर्ना भएका लामालाई थप उपचारका लागि भदौ २५ गते काठमाडौँको वीर अस्पतालमा पठाइएको अस्पतालले जनायो ।

पीडित मगरको उपचार गरेबापत ८ हजार ३ सय ८० रुपियाँ रकम लिइ उल्टो पीडितलाई घाइते बनाएको भन्दै पीडित पक्षले दिएको उजुरीको आधारमा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोतीराम भट्टले बताए ।


सीताराम अधिकारी