उद्धार गरिएकी मानसिक बिरामीले आश्रयस्थलमा आश्रय पाइनन्

  ०७६ असार ४ गते

अग्नीसाइर कृष्णसवरन गाउँपालिका-१ बाट फागुन ९ गते हात्तीको आक्रमणमा परेर घाइते अवस्थामा फेला परेकी नाम, ठेगाना, उमेर बताउन नसक्ने बेवारिस एक महिलालाई असार ३ गते उद्धार गरी उपचारका लागि भक्तपुरस्थित आफ्नो घर आश्रम पठाइएको थियो ।

राजविराज नगरपालिका र स्थानीय समाजसेवीको पहलमा मानसिक कमजोरी रहेकी अस्वस्थ महिलालाई उपचारका साथै पुनर्स्थापनाका लागि आश्रममा पठाइएको राजविराज नगपालिकाका अधिकृत प्रफुल्लकुमार श्रेष्ठले बताए ।

'बेवारिसे अवस्थामा फेला परेकी महिला स्वास्थ्य र सामाजिक सुरक्षाबाट वञ्चित' शीर्षकको समाचार चैत २० गते इन्सेक अनलाइनलगायत केही सञ्चार माध्यममा प्रकाशन भएपछि इन्सेक सप्तरीकै पहलमा उनको उपचार र स्याहार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएएको थियो ।

समाचार प्रभावले डिभिजन वन कार्यालय, सप्तरीले चैत २० गते इन्सेक सप्तरीका प्रतिनिधिको रोहवरमा १० हजार नगद उपलब्ध गराएपछि बेवारिस महिलाको दाहिने हातमा चैत २२ गते स्टिल जडान गरिएको थियो ।

इन्सेक सप्तरी र अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले महिलाको पुनर्स्थापनाको प्रयास गरिरहेकै बेला वैशाखको पहिलो साता अस्पतालबाट बेपत्ता भएपछि उनी असार २ गते रावि नपा-२ स्थित सडकबाट फेला परेकी थिइन् ।

बेवारिस महिलाको परिवार कोही सम्पर्कमा नआए पछि उनको उपचार र स्याहार हुन नसक्दा उनी सडकमा भौतारिरहेकी थिइन् ।

बेवारिस महिलासँगै असार ३ गते नै मानसिक बिरामी भई राजविराजको सडकमा भौतारिएर हिँड्ने दुई पुरुषलाई समेत उपचारका लागि भक्तपुरस्थित आफ्नो घर आश्रम पठाइएकोमा आफ्नो घरले महिलालाई राख्ने ठाउँ नभएका कारण पुरूषलाई राखेपनि महिलालाई मात्रै फर्काएको छ ।

पीडित महिलालाई फर्काएपछि इन्सेकलगायतको पहलमा गजेन्द्र नारायण सिं अस्पतालमा उपचार र स्याहार जारी राखिएको छ ।


मनोहरकुमार पोखरेल