उदयपुरका दई मुख्य बजारमा दुई ओटा बम फेला, सेनाद्वारा डिस्पोज

  ०७६ असार १० गते

उदयपुरका दुई मुख्य बजारमा असार १० गते दुई ओटा बम फेला परेको छ । त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र कटारी नगरपालिका–३ स्थित तिर्थ श्रेष्ठको घर अगाडि बम फेला परेको हो ।

सदरमुकाममा फेला परेको बम सुतली बम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए ।

शङ्कास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै नेपाली सेनाको १८ नम्बर बाहिनीको टोलीले घटनास्थलमा घेरा हालेर डिस्पोज गराएको एसपी मगरले बताए ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दलाई सफल बनाउन बम राखेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

आदर्शटोलमा हरियो झोलामा करिब १ सय मिटर रातो कालो तारले बाँधेर छाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कटारीमा रातो झोलामा बाँधेर छाडिएको अवस्थामा रहेको शङ्कास्पद बस्तु सुतली बमको आशङ्का गरिएको छ ।

उक्त बस्तुलाई प्रहरीले कडा सुरक्षा दिएर घेरा हालेको छ । एका बिहानै फेला परेको बमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा घेरामा राखेको छ ।

बन्दका कारण उदयपुरको जनजीवन प्रभावित छ । बजार, पसल, शैक्षिक संस्था, उद्योग, कलकारखाना छिटफुट बाहेक बन्द रहेका छन् ।

लामो दुरीबाट बिहान जिल्ला भित्रने सवारी साधनलाई प्रहरीले स्कर्टिङ गरेको छ भने बाहिर गएका छैनन् । बन्दको प्रभावसँगै जिल्लाभर नै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।


भरत खड्का