उत्पादित सामग्रीले बजार नपाउँदा कैदीबन्दी चिन्तित

  ०७६ असार २५ गते

यसै साता जिल्ला कारागार, म्याग्दीमा पुग्दा उत्तरी अन्नपूर्ण गाउँपालिका-७ हिस्तानका चन्द्रबहादुर रन्तिजा पलङ निर्माणमा जुटिरहेका थिए ।

उनीसँगै एकजना सहयोगी पनि सोही काममा व्यस्त थिए । पलङ तयार पारेर विक्री गरेपछि आम्दानी हुने कुराले उनको मन उत्साहित थियो ।

Photo20190710Myagdi02

पलङलगायतका काठका सामग्री उत्पादन गर्ने रन्तिजाले मासिक रूपमा नियमित अर्डर आएको खण्डमा १० हजार रुपियाँसम्म खर्च कटाएर जोगाउने गरेको उनी बताउँछन् ।

तर, कारागारमा उनले तयार गर्ने पलङ तथा अन्य कैदीबन्दीले तयार गर्ने गरेका मुडालगायतका सामग्रीहरू पहिलेको तुलनामा विक्री हुन छाडेको कैदीबन्दीको गुनासो छ ।

Photo20190710Myagdi01

आफूहरूले जानेको सीप प्रयोग गरी तयार पारिएका बाँसबाट बनेको मुडा, डाइनिङ सेट, पुजा सामग्री राख्ने टोकरीलगायतका हस्तकलाका सामग्री नबिक्दा उनीहरू चिन्तित बनेका हुन् ।

कारागारमा तयार भएको मुडा गुणस्तर हेरेर तीन सय देखि १ हजार रुपियाँ सम्ममा विक्री हुने गर्दछ । बाँसबाट तयार पारेको चार ओटा मुडा र टेबुलको उचाइ भएको मुडा आकारकै ठूलो मुडासहितको डाइनिङ सेटलाई आकार र गुणस्तर हेरी १० हजार रुपियाँदेखि २० हजार रुपियाँ प्रतिसेट विक्री हुने गरेको थियो ।

कारागारको उत्पादन विक्री गर्नका लागि बेनी बजार नै मुख्य बजार भएको भएपनि म्याग्दी तथा उत्तरी पर्वतको जलजला र बागलुङको दक्षिण भेग तिर पनि विक्री हुने मुडाले अहिले बजार पाउन छोडेको कार्यालयका कैदी ७१ वर्षीय दरिलाल जुगजाली बताउँछन् ।

विक्रीबाट आएको रकमले आफ्नो खर्च धानिरहेकोमा अहिले विक्रीमा गिरावट आउँदा पीडा थपिएको बताउँछन् कारागारका नाइके कमल पुर्जा । बेनी नपा-१०, पात्लेखेतका पुर्जा विगत ९ वर्षदेखि कारागारमा छन् ।

सामान विक्री नभएपछि खर्चले धानिरहेको कैदीबन्दीको परिवारमा पनि समस्या भएको पुर्जा बताउँछन् ।

जिल्ला कारागारमा अहिले ८८ जना पुरुष कैदीबन्दी र तीनजना महिला कैदीबन्दी गरी ९१ जना रहेका छन् ।


अमृत बास्कुने