उत्तरी गोरखामा खाद्यान्न ढुवानीमा ढिलाई हुँदा स्थानीय प्रभावित

  ०७५ कात्तिक १२ गते

उत्तरी गोरखाका स्थानीयहरूलाई सहुलियत दरमा उपलब्ध गराइने चामल चालु आर्थिक वर्षको तीन महिना बितिसक्दा पनि ढुवानी हुन सकेको छैन ।

चालु आर्थिक वर्षमा माछाखोला डिपोमा २ हजार ५ सय क्वीन्टल र सिर्दिबास डिपोमा २ हजार क्वीन्टल चामल पुर्‍याउने भन्दै असार १ गते नै टेण्डर आह्वान गरिएको थियो ।

माछाखोला डिपोका लागि टेण्डर स्वीकृत भएर ठेकेदारसँग सम्झौतासमेत भइसकेको छ । सिर्दिवास डिपोका लागि भने भदौ २९ गते पुनः प्रस्ताव आह्वान गरिएको थियो ।

सिर्दिवास डिपोका लागि टेण्डर स्वीकृत भइसकेकाले अब सम्झौताको प्रक्रियामा रहेको नेपाल खाद्य संस्थान गोरखा शाखाका प्रमुख नविन बस्नेतले बताए ।

'ठेक्का सम्झौता ढिला हुँदा यस वर्ष चामल ढुवानी गर्न सकिएको छैन ।'-उनले भने-'माछाखोला डिपोमा अघिल्लो वर्षकै पर्याप्त चामल छ । समस्या सिर्दिवासलाई हो । सिर्दिवासमा मौज्दात पनि कम छ ।' दुवै डिपोमा खाद्यान्न ढुवानी गर्न प्रगति निर्माण सेवाले दरखास्त हालेको छ ।

गत आर्थिक वर्षढुवानी भएको ७ सय ९० क्वीन्टल चामल माछाखोला डिपोमा मौज्दात रहेको उनले बताए । सिर्दिवासमा भने १ सय ३ क्वीन्टल मात्र चामल मौज्दात छ । बस्नेतका अनुसार अघिल्ला वर्षहरूमा यतिखेर चामल ढुवानी भएर विक्री भएपनि यस वर्षढुवानी नहुँदा चामल विक्री हुन सकेको छैन । चामल ढुवानी नहुँदा सिर्दिवास डिपो आसपासका स्थानीय प्रभावित भएका छन् ।

सिर्दिवास डिपोमा तत्काल खाद्यान्न वितरण गर्न कम्तिमा २ सय क्वीन्टल चामल भएमात्रै पर्याप्त हुने कर्मचारी बताउँछन् । माछाखोला डिपोबाट केरौजा“, उहिया, काशिगाउँ, लापु, गुम्दा र लाप्राकका स्थानीयहरूले सहुलियतमा चामल किन्न पाउँछन् ।

सिर्दिवास डिपोबाट सिर्दिवास सहित ल्हो, विही, प्रोक, छेकम्पार, चुम्चेत र सामागाउँका बासिन्दाले सहुलियतमा चामल खरिद गर्छन् ।

सो डिपोमा पाइने सोना मन्सुली चामल सिर्दिवास डिपोबाट प्रतिकेजी ४८ र माछाखोला डिपोबाट ४५ रुपियाँमा विक्री हुँदै आएको छ । सिर्दिवास र माछाखोला डिपोमा रहेको चामल वडा अध्यक्षको सिफारिसमा उपलब्ध गराउने प्रावधान छ ।


हरिराम उप्रेती