उजुरी दर्ता नगरेको विषयमा प्रहरी र सरकारी वकिल कार्यालयविरूद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

  ०७७ जेठ १० गते

२० वर्षीया महिलालाई अपहरण तथा  बन्धक बनाएर बलात्कार गरेको घटनाको उजुरी नलिएको भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय विरूद्ध पीडिपक्षले जेठ ८ गते राष्ट्रिय मानव अधिकार आयोग  बुटवलमा उजुरी दिएका छन् । उजुरीको वोधार्थ इन्सेक रुपन्देही र एडभोकोसी फोरममा समेत दिनुभएको छ ।

प्रहरीले कोरोना सङ्क्रमणको कारण देखाउदै उजुरी लिन नमानेको पछि आयोगमा उजुरी दिएको पीडित पक्षले जनाएको छ ।

युवती ०७६ चैत ७ गते भारतको सिवानबाट उपचार गरी फर्किने क्रममा  आरोपितहरूले रोहिणी गाउँपालिका– ५ का २२ वर्षीय रियासत अन्सारी, सोही ठाउँका २५ वर्षीय रामदयाल वनिया, २० वर्षीय धनराज थारु र २३ वर्षीय अमित कुमार चौधरीले अपहरण गरी शरिर बन्धक बनाएर बलात्कार गरेको भन्दै चैत १८ गते जिल्ला प्रहरी

कार्यालयमा  उजुरी दिन जाँदा  प्रहरीले पीडितलाई खोजेर ल्याउनुस त्यसपछि  उजुरी लिन्छु भनेर फार्काएको पीडित पक्ष बताउनु भयो ।

पीडित पक्षले आरोपितहरूसँग पुरानो रिसिइवी रहेको र चैत ५ गते धम्की दिएकाले पीडितलाई आरोपितहरूले अपहरण गरेको किटानी दिदापनि प्रहरीले वास्ता नगरेकाले न्यायको लागि पहल गरि मानव अधिकारको सङ्रक्षण  गरिदिन  उजुरी मार्फत आग्रह गरेका छन । उजुरीमा आरोपितहरूले अपहरण गरी बन्धक बनाएर बलात्कार  गरेको विषयमा कानुन बमोजिम हदैसम्म सजायका लागि माग गरेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयलाई  मानव अधिकारको सम्मान र प्रवर्धन गराउन र अपहरित व्यक्तिको अवस्था पत्ता लगाउन सहयोग गर्न माग गरेका छन् ।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले युवतीघरबाट हिडेकोले खोजतलास गरी पाउँ भन्दै चैत १८ गते उजुरी आएकोले खोजतलास भइरहेकोमा पुन किटानी सहितको उजुरी आएकोले हराएकी युवतीको अवस्था थाहा भएपछि अन्य प्रक्रियामा जान सकिन्छ भनेर पठाएको  बताउनु भयो ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश ५  का निमित्त प्रमुख इन्द्रजित शाहनीले पीडितको तर्फबाट उजुरी प्राप्त भएको र उजुरी किन दर्ता नगरेको भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाइएको बताउनु भयो । उहाँले  जवाफ पछि मात्र भन्न थप कुरा भन्न सकिने बताउनु भयो ।


रीमा बिसी