उजुरीबारे ‘बुझ्दैनबुझी’ प्रहरीले हस्तक्षेप गर्दा विवाह रोकियो

  ०७६ वैशाख १७ गते

खाँदबारी नगरपालिका–६ तल्लो पाठामा विवाह मण्डपबाटै ०७६ वैशाख १५ गते ‘बेहुलाबेहुली’ सहित चार जनालाई प्रहरीले गिरफ्तार गर्‍यो ।

जिल्ला बाल क्लव समन्वय समितिले बाल विवाह हुँदैछ भन्ने जानकारीे प्रहरीलाई दिएपछि प्रहरीको टोलीले बेहुला–बेहुली र उनीहरूका बाबुहरूलाई गिरफ्तार गर्‍यो ।

३६ वर्षीय बेहुला जितबहादुर तामाङ, बुबा कैलाशपति तामाङ, बेहुली र उनका बाबुलाई विवाह हुँदै गरेको मण्डपबाटै प्रहरीले गिरफ्तार गरेको थियो ।

गिरफ्तार पश्चात बेहुलीको परिवारले बेहुली २० वर्ष पुगिसकेको बताइरहेका बेला प्रहरीले भने बिना प्रमाण उनीहरूलाई गिरफ्तार गरी थुनामा राखेको पीडित परिवारले आरोप लगाएको छ ।

गिरफ्तार गरिएको दुई दिनपछि प्रमाण नपुगको भन्दै चारै जनालाई प्रहरीले थुनामुक्त गरेको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष राईले जिल्ला बाल क्लव समन्वय समितिले गरेको उजुरीको आधारमा गिरफ्तार गरेको बताए ।

उनले भने–‘जिल्ला बाल क्लव समन्वय समिति पनि एक आधिकारिक संस्था भएकोले सोही संस्थाको उजुरीको आधारमा हामिले गिरफ्तार गर्‍यौँ । हाल बेहुलीको उमेर खुल्ने कागजात काहीँ नभेटिएपछि छोड्न बाध्य भयौँ ।’

उजुरी गर्नकोे लागि उजुरी दिने संस्थासँग पनि बेहुलीको उमेर खुल्ने कागजात र कुनै प्रमाण नभएको पाइएको छ ।

बाल क्लव समन्वय समितिका पूर्व अध्यक्ष खेवाहाङ मेवाहाङले प्रमाण जुटाएर उजुरी दिन आफूहरू अदालत नभएको भन्दै पत्रकारहरूसँग आक्रोश पोखे ।

उनले भने–‘हामिले उजुरी दियौँ । प्रमाण जुटाउने काम प्रहरीको हो । हामीसँग बेहुलीको प्रमाण उमेर खुल्ने कुनै कागजात र प्रमाण त छैन ।’

यसरी बिना प्रमाण उजुरी दिँदा र प्रहरीले विवाह मण्डपबाटै उनीहरूलाई गिरफ्तार गर्दा पीडित पक्ष थप आक्रोशित बनेका छन् ।

‘मान्छे गिरफ्तार गर्नको लागि प्रमाण चाहिन्छ कि चाहिँदैन ? बिना प्रमाण यसरी मान्छे पक्राउ गरेपछि क्षतिपुर्ति कसले दिन्छ ? यत्रो विवाह कार्यक्रम नै तहसनहस गर्ने गरी प्रहरीले गरेको हरकतको क्षतिपुर्ति के ?’–पीडित पक्षले भने ।

मान्छे गिरफ्तार गर्नु पूर्व प्रमाण चाहिने हो कि पक्राउ गरेपछि प्रमाण चाहिने हो भन्दै स्थानीय आक्रोशित  बनेका छन् ।

‘त्यसमा पनि विवाह र उमेर जस्तो कुरामा प्रमाणित नगरी मान्छे गिरफ्तार गर्नको लागि उजुरी/सुराकी दिने र लिने जिम्मेवार हुन पर्छ कि पर्दैन ?’–स्थानीय बुद्धिसिंह घिमिरेले भने–‘यसरी प्रहरीले बिना प्रमाण मान्छे गिरफ्तार गर्ने शैली राम्रो होइन ।’

बेहुलीका आफन्तले आफ्नी छोरीको ०५६ साल वैशाख ३ गते जन्म भएकाले २० वर्ष पुरा भइसकेकाले विवाह गरेको बताएका छन् ।

गिरफ्तारीमा परेकी बेहुली २० वर्ष पुगे नपुगेको जन्म दर्ताको खोजी नगरपालिका गरे पनि तथ्याङ्क अहिलेसम्म नभेटिएको वडा नं ६ का वडाअध्यक्ष दयानिधि बरालले बताए । गिरफ्तार गरिएका चारै जनालाई वडाअध्यक्ष बरालको रोहबरमा छोडिएको छ ।


बाबुराम बास्तोला