उच्च अदालतले रिहा गरेका आरोपित पुनः गिरफ्तार

  ०७६ जेठ २४ गते

उच्च अदालत तुलसीपुर इजलासले रिहा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य घोराही उपमनपा–१३ का ४० वर्षीय बीरवल वलीलाई प्रहरीले जेठ २३ गते अदालतको गेटबाट पुनःगिरफ्तार गरेको छ ।

आरोपितकी ३० वर्षीया बहिनी कल्पना वलीले जेठ १९ गते उच्च अदालत तुलसीपुरमा बन्दी प्रत्यक्षीकरण रिट दायर गराएकी थिइन् ।

बन्दी प्रत्यक्षीकरणमाथि सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश इश्वर पोख्रेलको संयुक्त इजलासले जेठ २३ गते वलीलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो । आदेश पछि पुनः गिरफ्तार गरी प्यूठान प्रहरीले जेठ २४ गते प्यूठान लगेको छ ।

प्रहरीले आरोपित वलीलाई ०७५ चैत ६ गते घोराहीबाट गिरफ्तार गरी सार्वजनिक मुद्दा दर्ता गरेकोमा जिल्ला प्रशासन कार्यालय दाङले चैत २४ गते ७ हजार रुपियाँ धरौटी रिहा गरेको थियो ।

रिहा गरे लगत्तै वलीलाई प्रहरीले प्रशासन कार्यालयको गेटबाट पुनः गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय रोल्पा पुर्‍याएको थियो ।

रोल्पा प्रहरीले वलीविरूद्ध विष्फोटक पदार्थ, अपराधिक उपद्रविरूद्ध मुद्दा चलाएकोमा जिल्ला अदालत रोल्पाले जेठ १४ गते ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

वलीलाई पुनः अदालतको गेटबाट गिरफ्तार गरी प्यूठान पुर्‍याएको थियो । प्यूठान प्रहरीले राज्यविरूद्धको गतिविधिसम्बन्धी मुद्दा चलाइएको थियो ।

यसैबीच वलीले जेठ २३ गते विज्ञप्ति जारी गर्दै आफू स्वतन्त्र जीवन यापन गर्ने र  शिक्षण पेसामा रहेर सामान्य जीवन यापन गर्ने जनाएका छन् ।


जे.एन.सागर