उच्चस्तरीय जाँचबुझ आयोग सप्तरीमा

  ०७४ असार २५ गते

तराई, मधेस, थरूहटलगायत क्षेत्रमा आन्दोलनका क्रममा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोग असार २५ गते सप्तरी आएको छ ।

Photo20170709Saptari

०७३ कात्तिक १ गते सपथ ग्रहण गरेर काम प्रारम्भ गरेको आयोग नौ महिनापछि १७ औँ जिल्लाका रूपमा सप्तरी आइपुगेको हो ।

आयोगको टोलीमा पूर्व न्यायाधीश एवम् अध्यक्ष गिरिशचन्द्र लालसहित सदस्यहरू पूर्व नायव महान्यायाधिवक्ता सूर्य कोइराला, नेपाल प्रहरीका पूर्व एआईजी नवराज ढकाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्व डीआईजी सुखचन्द्र झा र कानुन व्यवसायी सुजन लोप्चन रहेका छन् । आन्दोलन, बन्द हडताल र स्थानीय निर्वाचनका कारण आयोग ढिलो गरी सप्तरी, सिरहा आएको आयोगका सदस्य नवराज ढकालले बताए ।

टोलीले सप्तरीको भारदह, रूपनी, राजविराजस्थित घटनास्थल अवलोकन गर्नुका साथै सहिद परिवार, घाइते, आन्दोलनरत पक्ष र बुद्धिजिवीहरूसँग भेंटघाट गरी अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागीहरूले तराई-मधेसमा आन्दोलनको क्रममा प्रहरी प्रशासनबाट व्यापक रूपमा दमन भएको बताए ।

आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न गठित आयोगको ६ महिनाको म्याद सकिएपछि ३ महिना म्याद थपिएको थियो । थपिएको ३ महिनाको समयावधि असार मसान्तमा सकिँदैछ ।

पीडित तथा प्रभावित पक्षहरूबाट उजुरी र जानकारी लिएपछि घटनाका बारेमा सत्यतथ्य केलाउन स्थलगत अनुगमनमा आएको बताउँदै अध्यक्ष लालले पीडितहरूलाई बढीभन्दा बढी न्याय हुनेगरी निष्पक्षतापूर्वक सिफारिश गर्ने बताए ।


मनोहरकुमार पोखरेल