इलाम कारागारमा खानेपानीको अभाव

  ०७५ भदौ १३ गते

इलाम कारागारमा खानेपानीको अभाव देखिएको छ । पानीको अभाव देखिएसँगै कैद भुक्तान गरिरहेका बन्दीहरूको दैनिक जीवनमा समस्या उत्पन्न भएको छ ।

सदरमुकाममा खानेपानी आपूर्ति गर्दै आएको इलाम नगरपालिकाले पुरानो पाइप लाइनको सुधार गरेपनि कारागारमा आपूर्ति हुने पानी भने व्यवस्थित नहुँदा समस्या भएको कारागार प्रमुख भक्तबहादुर खड्काले बताए ।

नगरपालिकाले कारागारलाई चौबिसै घण्टा पानी उपलब्ध गराउने भनेपनि वर्षौँदेखिको खानेपानी समस्या अझै समाधान नभएको खड्काको भनाई छ ।

'अरू नागरिकका धारामा बिहान-बेलुकै पानी आउँछ भन्ने सुनिन्छ । तर, कारागारमा दैनिक ट्याङ्करबाट पानी ल्याएर चलाउनु पर्दा खानेपानीको समस्या भएकोमा खड्काले गुनासो गरे ।

महिला र पुरूष कैदी बन्दी ३ सय जना र कर्मचारी, सुरक्षाकर्मी गरेर थप १ सय गरी ४ सय जनालाई कारागारमा खानेपानीको चरम अभाव छ ।

पानी अभाव हुँदा खाना पकाउने, नुहाउने, लुगा धुने, शौचालय जाने लगायतका दैनिक काममा कठिनाइ भइरहेको कैदी बन्दीहरूले बताए ।

दुईवटा धारा जडान गरिदिने भनेको नगरपालिकाले एउटा २० एमएमको पाइपमा दुईवटा मिटर जोडिदिएर टारेकोमा कारागार प्रमुख खड्काले असन्तुष्टी व्यक्त गरे ।

हाल महिनामा प्रति ट्याङ्कर २ हजार ४ सय रुपियाँका दरले आठ ट्याङ्करको १९ हजार २ सय रुपियाँ बराबरको खानेपानी कारागारले बाहिरबाट खरिद गरिरहेको छ । यो बाहेक नगरपालिकालाई महिनामा १७ देखि १८ हजार रुपियाँ महसुल बुझाउँदै आएको कारागार प्रशासनले जनाएको छ ।

पानी र बत्तीको महसुल शीर्षकमा चालु आर्थिक वर्षमा ७ लाख रुपियाँ रकम विनियोजन भएको कारागारमा महिनामा पानीका लागि मात्रै ३६ हजार रुपियाँको हाराहारीमा खर्च हुन्छ । यो बाहेक बिजुलीको मासिक ७० देखि ८० हजार रुपियाँ महसुल तिर्नु परिरहेको प्रमुख खड्काको भनाई छ ।

कैदीबन्दीले आकाशबाट पानी परेका बेलामा पानी सङ्कलन गरेर प्रयोग गर्ने गरेका छन् । पानी परेन भने शौचालय जान समेत समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् ।


कोकिला ढकाल