इन्सेक समाचार प्रभावः सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परेका पीडितलाई सहयोग जुट्दै

  ०७७ कात्तिक २७ गते

सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परी बेसाहारा जस्तै बनेका भूमे गाँउपालिका–२ काँक्रीका ४५ वर्षीय सिङबहादुर दमाईको इन्सेक अनलाइनमा समाचार प्रकाशित भएपछि पीडितलाई सहयोग जुटन् थालेको छ ।

पीडितको सहयोगका लागि  सिस्ने गाउँपालिका–७ नाथिगाड घर भइ  हाल अमेरिका रहनु भएका मुगलाल रावतले ८ हजार र दाङ घोरहीस्थित  सिद्धार्थ बैंकमा कार्यरत दृष्टि शाहले १ हजार रुपियाँ कात्तिक २७ गते सहयोग गर्नु भएको छ ।

इन्सेक अनलाइनमा ०७६ कात्तिक २७ गते ‘सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परेका पीडित आर्थिक अभावका कारण उपचारबाट वञ्चित’ शिर्षकमा पहिलो पटक समाचार प्राशित भएपछि  विभिन्न सञ्चार माध्यमले समाचार बनाएका थिए । समाचार प्रकाशन भएपछि विभिन्न व्यक्तिले रकम तथा रासन सहयोग गर्दै आएकोमा र स्थानीय तहले एक तल्ले घरपनि बनाइ दिएको हो ।

photo2020111201rukuwest

 गत वर्ष उक्त समाचार इन्सेक अनलाइनमा प्रकाशन भएदेखि समय–समयमा विभिन्न व्यक्तिबाट  सहयोग जुटिरहेको सिङबहादुकी आमा देमु दमाईले बताउनु भयो ।

०७७ कात्तिक २७ गते मात्र रावल र शाहले दमाईको लागि पठाउनु भएको ९ हजार रुपियाँ भूमे गाउँपालिका–२ का वडाध्यक्ष नरबहादुर बुढा र अनेरास्ववियू रुकुमपूर्वका संयोजक रेवन खड्काले दमाईको आमालाई हस्तान्तरण गर्नु भएको छ ।

 ०७६/०७७ मा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गतको ३ लाख रुपियाँ बजेटमा गाउँपालिकाको सिफारिशबाटे नयाँ घर निर्माण गरिएको भूमे गाउँपालिका–२ का वडाध्यक्ष बुढाले बताउनुभयो ।

 २०६३ माघ महिनामा उहाँका ठूलो बुबाको छोरा रुपचन्द्र दमाईको घरमा बम विष्फोट हुँदा कौशीमा लुगा सिलाइरहेका दमाई  भुईमा बेहोस हुनुभएको थियो । उक्त घटनापछि मानसिक सन्तुलन गुमाएका दमाईको उपचारपछि सामान्य अवस्थामा आउन सक्नु भएन ।

 गाउँमा मान्छेलाई कुटपिट गर्ने गरेपछि उहाँको हात साङ्लोले बाँधिएको नौ वर्ष भएको स्थानीयले बताए । हात बाँधेदेखि अहिलेसम्म हिँड्डुल पनि गरेका छैनन्  ।

 भूमे गाउँपालिका–२ का स्थानीय पृथीबहादुर बुढा मगरका अनुसार द्वन्द्वका समयमा तत्कालीन माओवादीले लुकाई राखेको अवस्थामा आफैँ विष्फोट भएको थियो । विष्फोटमा उहाँका भाइ रुपचन्द्र र बुहारी आइती दमाई को मृत्यु भएको थियो । विष्फोट हुँदा लुगा सिलाइरहेका सिङबहादुर बार्दलीबाट तल खसेदेखि समस्या आएको थियो ।


जयमान बुढा मगर