इन्सेक र मानव अधिकार आयोगको टोलीद्वारा मुसहर बस्तीको अनुगमन

  ०७६ वैशाख ३ गते

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले दुधौली नगरपालिका–७ र वडा नं. १० का मुसहरहरूको जातीय विभेद तथा छुवाछुतको अवस्थाको वैशाख ३ गते अध्ययन गरेको छ ।

इन्सेक जिल्ला प्रतिनिधिसहित अनुगमनमा पुगेको टोलीले मुसहर बस्तीको अनुगमन गरी उनीहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक अवस्थाको समेत पहिचान गरेको छ ।

आयोगकी मानव अधिकार अधिकृत कल्पना नेपालको नेतृत्वमा गएको टोलीले मुसहर समुदायका महिला, बालबालिकाको अवस्था, शिक्षा, स्वास्थ्यको अवस्था, आर्थिक अवस्थाका साथै उनीहरुले भोगेको जातीय विभेद तथा छुवाछुतको अवस्थाको अध्ययन गरेको हो ।

टोलीमा आयोगका मधु सुनाम, इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डे, रिलेक नेपाल सिन्धुलीका अध्यक्ष रुद्रबहादुर खड्का रहेका थिए ।

अनुगमनमा टोलीले मानव अधिकारको अवस्था, उनीहरूको राज्यका निकायसँगको पहुँच, छुवाछुतको अवस्था, शिक्षा, स्वास्थ्य, उत्पादनलगायतका क्षेत्रमा उनीहरूको उपस्थिति र पहुँचका विषयमा मुसहर समुदायसँग छलफल गरेको थियो ।

टोलीले दुधौली नगरपालिका–७ को पोखरे र दुधौली नगरपालिका–१० को थली भन्ने गाउँमा अनुगमन गरेको हो ।

त्यहाँका मुसहर समुदायसँग छलफल गरी जानकारी लिएको थियो । अनुगमनमा खटिएकी आयोगका मानव अधिकार अधिकृत कल्पना नेपालले ती दलित बस्तीमा राज्यको उपस्थिति न्यून रहेको, स्वास्थ्य, शिक्षा रोजगार आवास जस्ता न्युनतम अधिकार समेत नपाएको अवस्था पाइएकाले स्थानीय सरोकारवाला, राज्यका निकायहरूले ध्यान दिन आवश्यक रहेको बताइन् ।

उनले सरोकारवाला निकायहरूलाई उनीहरूको जीवनस्तर सुधार गर्न र मुलधारमा ल्याउन पहल हुनुपर्ने सुझाव समेत दिएको बताइन् ।


विमला पाण्डे