इन्सेक र कियोसको सँयुक्त टोलीद्वारा विद्यालय अनुगमन

  ०७५ वैशाख २७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र कियोसको संयुक्त टोलीले वैशाख २७ गते ललितपुरको चापगाउँस्थित उदयखर्क माध्यमिक विद्यालयको अनुगमन गरेको छ ।

Photo20180511Lalitpur (2)

इन्सेकले कियोससँगको समन्वयमा गोदावरी नगरपालिका-१० मा रहेको सो विद्यालयमा बालिकामैत्री शौचालय निर्माण तथा कम्प्युटर र स्मार्ट बोर्ड सहयोग गरेको थियो ।

सहयोग गरिएका सामग्री र निर्माण गरिएको शौचालयबाट बालबालिकालाई भएको सहजता र त्यसको उपयोगिताका विषयमा विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन र बाल अधिकार चेतनासमूहका प्रतिनिधिसँग छलफल गरिएको थियो ।

Photo20180511Lalitpur (3)

सो क्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बालबालिकाको सहजताका लागि इन्सेकको स्रोतले भ्याएसम्म सहयोग गर्ने तथा थप स्रोत जुटाउन सहयोग गर्ने बताए ।

कियोसकी दक्षिण एशिया विज्ञ कात्जा इलपोला (Katja Ilppola) ले आफूहरूले गरेको सहयोगबाट बालबालिका लाभान्वित भएको भन्दै खुसी व्यक्त गरिन् । उनले भनिन्-'चार वर्षअघि म यहाँ आउँदाको अवस्था र अहिले निकै रूपान्तरण भएको रहेछ । बालबालिका पनि खुसी रहेछन् । हाम्रो सानो सहयोगले यहाँ ठूलै काम गरेको छ ।'

Photo20180511Lalitpur (1)

विद्यालयमा कृषक र मजदुरका बालबालिका मात्रै अध्ययनरत रहेको बताउँदै प्रधानाध्यापक उद्धव खत्रीले सहयोग प्रति आभार व्यक्त गर्दै थप सहयोगको अपेक्षा राखे ।

विद्यालय व्यवस्थापन समितिका सल्लाहकार एवम् गोदावरी नगरपालिका वडा नं १० का वडा सदस्य भाग्यराम तामाङले नगरपालिका, दाता र स्थानीय मिलेर विद्यालयलाई नमूना बनाउनुपर्ने विचार राखे ।

उदयखर्क बाल अधिकार चेतना समूहकी उपाध्यक्ष विनिता परियारले छात्रामैत्री शौचालय निर्माण भएपछि महिनावारीका बेलामा समेत पढ्न पाएको बताइन् । उनले भनिन्-'अहिले हामीलाई आराम गर्नुपरेमा आराम कक्ष पनि छ । प्याड फेर्ने व्यवस्था पनि छ । निकै सजिलो भएको छ ।'

विद्यालयका शिक्षकशिक्षिकाले स्मार्ट बोर्ड प्रयोग गरेर पढाउँदा विद्यार्थीले चाँडो बुझने बताउँदै स्मार्ट बोर्डलाई शिक्षककै सहयोगी भएको बताए ।

सो टोलीमा इन्सेकका कार्यकारी निर्देशक गौतम, कियोसकी इलपोला, कियोसकै रोजा रम्तला, इन्सेक केन्द्रीय कार्यालयका सुबेच्छा खड्का र रमेशप्रसाद तिमल्सिना थिए ।


अनलाइन डेस्क