इन्सेक प्रतिनिधिद्वारा पुरस्कार रकम पीडित परिवारलाई हस्तान्तरण

  ०७७ फागुन १२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले मानव अधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत प्राप्त गरेको पुरस्कार मानव अधिकार उल्लङ्घनका पीडित परिवारलाई हस्तान्तरण गर्नु भएको छ ।

mइन्सेकले अधिकारीलाई सन् २०२० मा 'नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१' का लागि मानव अधिकार उलल्ङघन तथा ज्यादतीका सूचना सम्प्रेषण तथा पीडितको मानव अधिकारका रक्षका लागि उत्कृष्ट प्रतिनिधि पुरस्कारबाट सम्मान गर्नुका साथै नगद रु. ७  हजार प्रदान गरेको थियो ।

अधिकारीले इन्सेकले उपलब्ध गराएको नगद रु. ७ हजार पुरस्कार नेपाली सेनाको कुटपिबाट मृत्यु भएका राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको परिवारलाई हस्तान्तरण गर्नु भएको हो ।

मृतक राजकुमारका दुई वर्षीया छोरी एलिना चेपाङको शिक्षामा प्रयोग हुने गरी बालिकाको नाममा खोलिएको बैंक खातामा रकम जम्मा गरिएको हो । उक्र रकम जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीमार्फत पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको थियो ।

मानव अधिकारको क्षेत्रका सक्रिय भई काम गरे वापत पाएको पुरस्कार मानव अधिकार उलङ्घन भई पीडित बनेका परिवारका लागि उपलब्ध गराउनु सह्रानीय काम भएको जिल्ला समन्वय समितिका प्रमुख डल्लाकोटीले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले सहयोग रकमले प्रत्यक्ष रूपमा बालिकालाई उनको शिक्षादिक्षामा फाइदा पुग्नेमाआफू विश्वस्त रहेको बताउनुभयो ।

इन्सेक बागमती प्रदेशद्वारा फागुन ७ गते हेटौँडामा आयोजित “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१” सार्वजनिकीकरण कार्यक्रममा अधिकारीलाई नगद रु. ७ हजार सहित प्रमाणद्वारा सम्मान गरिएको थियो ।

जिल्लाको मानव अधिकार गतिविधिमा सक्रिय सहभागिता जनाएको, मानव अधिकारको पक्षमा निरन्तर वकालत गरेको र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रतिनिधिअधिकारीलाई सम्मान गरिएको इन्सेक वागमती प्रदेश संयोजक कृष्ण गौतमले बताउनुभयो ।

आर्थिक रूपमा विपन्न चेपाङ समुदायका राजकुमार सहित सात जना गत साउन १ गते निगुरो तथा घोगी टिप्न चितवन राष्ट्रिय निकुन्ज भित्र प्रवेस गरेको अवस्थामा सेनाका जवानद्वारा कुटपिट तथा दुर्व्यवहार भएको थियो ।

सोही कुटपिटबाट घाइते भएका राजकुमारको साउन ७ गते उपचारको लागि भरतपुर अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

यस घटनाका आरोपित सेनाका हुद्दा तहका कर्मचारी चिरण बुढा जिल्ला अदालत चितवनको ०७७ असोज २७ गतेको आदेशले पूर्पक्षका लागि थुनामा छन् ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा