इन्सेक प्रतिनिधिको पहलमा उजुरी दर्ता

  ०७६ चैत ७ गते

बलात्कार पश्चात चार महिनाको गर्भवती भएकी २० वर्षीया युवतीले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी चैत ४ गते दर्ता भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहको पहलमा उजुरी सो प्रहरी कार्यालयमा दर्ता भएको हो ।

क्षिरेश्वरनाथ नपा–५ महेन्द्रनगर स्थायी घर भई मोबाइल मर्मत गर्दै आएका जनकपुरधाम–४ बस्ने २० वर्षीय शिवराज श्रेष्ठले डेढ वर्षदेखि विवाह गर्ने प्रलोभन दिएर बलात्कार गर्दै आएको पीडित युवतीको आरोप छ ।

युवतीले फागुन ५ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दिनु भएको उजुरी प्रहरीले दर्ता गर्न नमाने पछि इन्सेक धनुषा जिल्ला प्रतिनिधि सिंहलाई भेटेर ०७६ फागुन १३ गते निवेदनसहीत न्याय दिलाउन पहल गरिदिनु हुन आग्रह गर्नु भएको थियो ।

पीडित युवतीले दिनु भएको बलात्कार विरुद्धको उजुरी इन्सेक प्रतिनिधिकै पहलमा फागनु २१ गते प्रदेश २ का मुख्यन्यायधिवक्ताको कार्यालयबाट खटाइएको निःशुल्क सहायता अधिकृत रिंकु कुमारी यादवसँग समन्वय गरि लेखाइएको थियो ।

पीडित युवतीको चैत ३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अशोक झाले बताउनु भयो ।

आरोपित फरार रहेकोले खोजि कार्य भइरहेको इन्स्पेक्टर झाले बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह