इन्सेक प्रतिनिधिको पहलमा कर्तव्य ज्यानको उजुरी दर्ता

  ०७५ जेठ ३२ गते

सन्धिखर्क नगरपालिका–१२ का ३३ वर्षीय विक्रम केसीको कर्तव्य ज्यानसम्बन्धी उजुरी प्रहरीले इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाललगायत अधिकारकर्मीहरूको पहलपछि मात्र जेठ ३१ गते दर्ता गरेको छ ।

प्रहरीले उजुरी लिन नमानेको भन्दै पीडित पक्षले सहयोगको माग गर्दै अधिकारकर्मी तथा इन्सेक जिल्ला प्रतिनिधि भुसाललाई  जेठ १७ गते लिखित निवेदन पेश गरी सहयोगको आग्रह गरेको थियो ।

इन्सेक प्रतिनिधिसहित अन्य अधिकारकर्मीहरूसमेतको पहलमा ११६ नम्बरमा उजुरी दर्ता गरिएको छ । प्रहरीले उजुरी दर्ता गरी अनुसन्धानसमेत गथालेको जनाएको छ ।

जेठ १२ गते सन्धिखर्क नगरपालिका–१२ का ३३ वर्षीय विक्रम केसी सोही ठाउँको एक होटलमा मदिरा सेवन गरेको सुनेपछि लिन पुगेका विक्रमका बाबु काशिराज केसीले छोराको मुखबाट फिँज र रगत समेत आएको हुँदा प्रहरीको सल्लाह अनुसार थप उपचारको लागि प्रहरीकै सवारी साधनमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको लागि लगिएको पीडित पक्षले जनाएको छ ।

पीडितको उपचार जिल्ला अस्पतालमा हुन नसकेपछि प्रादेशिक अस्पताल बुटवल लगिएकामा उपचारको क्रममा मृत्यु भएको थियो । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।


नारायण भुसाल