इन्सेक पाल्पा जिल्ला प्रतिनिधि सम्मानित

  ०७६ असोज २८ गते

बगनासकाली गाउँपालिका-९ द्वारा स्वास्थ्य अभियानमा योगदान पुर्‍याएको भन्दै इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना सम्मानित भएका छन् ।

बगनासकाली गाउँपालिका-९ चापपानीमा असोज २५ असोज आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।

Photo20191015Papla (2)

बगनासकाली गाउँपालिका-९ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रमको अवसरमा स्वास्थ्य क्षेत्रको सुधार अभियानमा इन्सेक र इन्सेक प्रतिनिधिले सहयोगी भूमिका निर्वाह गरेको भन्दै मायाको चिनो र सम्मानपत्रले सम्मान गरिएको हो ।

प्रदेश ५ का सांसद वीरबहादुर राना, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी दर्लामी, वडा अध्यक्ष ठानेश्वर तिमल्सिनालगायतले सम्मान पत्र प्रदान गरे ।

'नेपाल सरकारको स्वास्थ्य नीति तथा कार्यक्रम अनुसार आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी गराई आमा तथा नवजात शिशु मृत्युदरलाई कम गराउन पूर्ण संस्थागत सुत्केरीको अवधारणा अनुसार उक्त गाउँपालिका-९ स्थित चापपानी पूर्ण संस्थागत सुत्केरी भएको वडा घोषणाका लागि सम्पूर्ण सूचकहरूको पुर्णताको सुनिश्चितताको निम्ति तपाई र तपाईको संस्थाले निर्वाह गरेको उल्लेखनीय भूमिकाको उच्च मुल्याङ्कन गर्दै बगनासकाली गाउँपालिका-चापपानी पूर्ण संस्थागत सुत्केरी भएको वडा घोषणाको सुअवसरमा यो सम्मानपत्र प्रदान गरिएको छ ।'-सम्मानपत्रमा उल्लेख छ ।

Photo20191015Papla (1)

यस अघि उक्त वडामा इन्सेकको इएलपी कार्यक्रम सञ्चालन भएको थियो । इन्सेकले गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा वडाको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको सवालमा रचनात्मक कार्यक्रम सञ्चालन गरी उल्लेख्य सहयोग गरेको भन्दै सम्मान गरिएको वडाध्यक्ष ठानेश्वर तिमल्सिनाले बताए ।

कार्यक्रममा इन्सेक सहित नेपाल परिवार नियोजन संघ लगायतका बिभिन्न सहयोगी व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज