अलपत्र मजदुरहरू इन्सेकको पहलमा उद्धार

  ०७७ जेठ ७ गते

कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अलपत्र परेका मजदुहरूलाई इन्सेकको पहलमा उद्धार गरिएको छ ।

काभ्रे जिल्लाको रोशी गाउँपालिकाको नार्केको एक क्रसर उद्योगमा ज्यामी काम गर्दै आइरहेका जाजरकोट जिल्लाको भेरी नगरपालिका–७ पुन्मा घर भएका सात जना मजदुरहरूलाई जेठ ६ गते काठमाडौँको नयाँबसपार्क गोगंबुबाट उद्वार गरिएको हो ।

यसरी उद्धार गरिएकाहरूमा ३५ वर्षीय मदनकुमार शाही, २९ वर्षीय हरिबहादुर शाही, २७ वर्षीय गोपालबहादुर शाही, ३१ वर्षीय जङ्गबहादुर शाही, २८ वर्षीय वीरबहादुर शाही र ४० वर्षीय कृष्णबहादुर सिंह रहेका छन् ।photo20200521 KTM

काम गर्दै आएको ठाउँमा काम बन्द भएको र ठेकेदारले खाने तथा बस्ने व्यवस्था नगरेको र पैसा पनि नदिएकोले खान बस्न समस्या भएपछि वैशाख ३१ गते हिँडेरै घर जान थालेका उनीहरू जेठ १ गते काठमाडौँको थानकोटमा आइपुगेका थिए । लकडाउनका कारण कतै बास बस्न नपाएको कारण दुई दिन हिँडेर नयाँबसपार्क पुगेको मदनकुमार शाहीले बताउनु भयो ।

लकडाउनका कारण जनाउँदै प्रहरीले थानकोटबाट उनीहरूलाई जहाँबाट आएको हो सोही स्थानतर्फ फर्कन भनेपछि त्यहाँबाट फर्किएर सोही दिन नयाँबसपार्कमा पुगेका थिए । जहाँ केही दिनदेखि निशुल्क राहतका रुपमा दिने खानको व्यवस्था पनि बन्द भएपछि सबै जना अलपत्र परेको थिए । बाहिर जिल्लाबाट आएका मजदुर लकडाउन र खर्चको कारण काठमाडौँमा अलपत्र भएको सूचना इन्सेकलाई प्राप्त भएपछि उद्धारको पहल भएको थियो ।

अलपत्र मजदुरहरूको इन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतमको नेतृत्वले लायन्स क्बल अफ काठमाडौँ र प्रहरीको समन्वयमा काठमाडौँको कपनमा रहेको नवदुर्गा पार्टी प्यालेसमा बस्ने व्यवस्था मिलाइएको हो । उद्धारपछि मदनबहादुर शाहीले सडकको बास भएको अवस्थामा अस्थायी रुपमै भए पनि व्यवस्थित आश्रयको व्यवस्था गरेकोमा इन्सेकलाई धन्यवाद दिनु भयो ।

अलपत्र मजदुरको उद्धारका लागि नेकपाका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्लाका सहइन्चार्ज निरज आचार्यले पनि इन्सेकलाई आफ्ना जिल्लाका नागरिकको उद्धारको नेतृत्व गरेकोमा आभार व्यक्त गर्नुभयो ।

यस अघि वीर अस्पताल अगाडि अलपत्र परेका एक जना मजदुरको पनि इन्सेककै पहलमा उद्धार गरी  नवदुर्गा पार्टी प्यालेसमा नै बस्ने व्यवस्था मिलाइएको थियो ।


विमला पौडेल