इन्सेक अध्यक्ष प्याकुरेललाई बधाई ज्ञापन

  ०७५ कात्तिक १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेललाई प्रदेश १ को सरकारले प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेकोमा बधाई ज्ञापन गरिएको छ ।

photo20181101lalitpur

ललितपुरमा कात्तिक १५ गते एक कार्यक्रमको आयोजना गरी इन्सेकका संस्थापक, पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्य, कार्यसमितिका सदस्य तथा कर्मचारीहरूले बधाई ज्ञापन गरिएको हो ।

प्याकुरेललाई प्रदेश १ को मन्त्री परिषद बैठकले कात्तिक १४ गते प्रदशे १ को नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रपतिका मानव अधिकार तथा राजनीतिक विज्ञ सुशील प्याकुरेलले सङ्घीयतालाई सशक्त बनाउन पनि सक्षम जनशक्ति स्थानीय तथा प्रादेशिक तहमा जानुपर्ने बताए । उनले भने–‘मानव अधिकार एउटा यात्रा हो । जहाँबाट र जतिखेर पनि यो यात्रा जारी रहन्छ । भूमिका फरक हुनसक्छ । तर, मानव अधिकार यात्रा जारी राख्नुपर्छ ।’

सुबोधराज प्याकुरेलले सामूहिकताको प्रतिनिधि मात्रै नेता बन्न सक्ने बताउँदै इन्सेकले गरेका कामहरू सामूहिक अभियान भएको विचार राखे । मुलुकलाई समृद्ध बनाउन जुनसुकै योगदान पुर्‍याउन पनि तयार रहेको प्याकुरेलको भनाई छ ।

उनले भने–‘सामाजिक न्याय, मानव अधिकार र दिगो विकासलाई एकत्रित गर्न सक्दा मात्रै समृद्धि हासिल गर्न सकिन्छ । मेरो बल यि तिनै पक्षलाई एकत्रित गर्नेमा केन्द्रीत रहन्छ ।’

इन्सेकका पूर्व महासचिव लालबावु यादवले भने ।–‘इन्सेकका अध्यक्ष प्याकुरेलको नेतृत्वले गर्ने काम प्रदेश १ को इतिहास बन्नेछ । वहाँको नेतृत्वमा दक्षिण एशियामा नै इन्सेकको पहिचान छ । अब प्रदेश १ को नीति तथा योजनाबाट देशैभर सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा छ ।’

इन्सेक कार्यसमिति सदस्य ईन्दिरा श्रेष्ठले इन्सेकलाई थप शसक्त बनाउन आफूहरूले कुनै कसर बाँकी नराख्ने बताउँदै प्याकुरेलको सफल कार्यकालको शुभकामना दिइन् ।

इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले प्रदेश सरकारको निर्णयबाट प्रादेशिक नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेललाई इन्सेकका कर्मचारीका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।


अनलाइन डेस्क