इन्सेकद्वारा हिंसा पीडितलाई आर्थिक सहयोग

  ०७७ मङ्सिर १६ गते

बलात्कार घटनाका पीडित २४ वर्षीया महिलालाई इन्सेक कर्णाली प्रदेश कार्यालयले मङ्सिर ११ गते कानुनी सहायताको लागि १० हजार आर्थिक सहयोग गरेको छ ।

पीडित महिलाको आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा जान नसकेको  निवेदन उपर अनुसन्धान गरी इन्सेकद्वारा गठित मानव अधिकार सहायता कक्षको बैठकले कात्तिक २५ गते आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले मुगुम कार्मारोङ गाउँपालिकाकी उपाध्यक्ष छिरिङ तामङ र करानी सामुदायिक विकास केन्द्रका सचिव उर्गिन नण्डुल लामाको रोहबरमा  मंसिर ११ गते पीडितको आमालाई उक्त रकम हस्तान्तरण गरिएको छ ।

उपाध्यक्ष तामङले कानुनी सहायताको लागि इन्सेकको आर्थिक सहयोग कार्य उल्लेखनिय भएको भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो ।

जन्मजात अपाङ्गता भएकी पीडितलाई असोज २३ गते बलात्कार गरेको आरोपमा छाँयानाथा रारा नगरपालिका–१२ का ३० वर्षीय जङ्गबहादुर विक विरुद्ध पीडित पक्षले सोही दिन प्रहरी चौकि पुलमा उजुरी दर्ता गराएका थिए ।

आरोपितलाइ प्रहरीले उनकै घरबाट असोज २५ गते गिरफ्तार गरी कात्तिक २० गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भिमदत्त जोशीले जानकारी दिनुभयो ।


जीवन सेजुवाल