इन्सेकद्वारा सरोकारवाला निकायमा ध्यानाकर्षण

  ०७६ जेठ ७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङ्जा स्थित शिक्षा, स्वास्थ्य, खाद्य तथा कृषिका सवालमा सम्बन्धित निकायलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

गत वैशाख २४ र २५ गते फेदिखोला गाउँपालिका जननिर्वाचित प्रतिनिधि र मानव अधिकार निगरानी समूहका सदस्यहरूलाई प्रदान गरिएको तालिमका उठेका शिक्षा, स्वास्थ, खाद्य र कृषिसम्बन्धी समस्यालाई समाधानका लागि ध्यानाकर्षणपत्र बुझाइएको इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक शिव खकुरेलले जानकारी दिए ।

Photo20190521Syangja02

जेठ ६ गते फेदिखोला गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा मानव अधिकार निगरानी समूह र इन्सेकले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएको खकुरेलले बताए ।

पत्र बुझ्दै स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले धेरै अधिकारहरू स्थानीय तहमा गइसकेको बताउँदै आफ्नो क्षेत्रबाट गर्नुपर्ने पहल पुरा गर्नका लागि प्रतिबद्ध रहेको बताए ।

Photo20190521Syangja01

फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले उठेका समस्याहरूलाई न्युनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पत्र बुझाउँदै मानव अधिकार निगरानी समूह, फेदीखोलाका सदस्य नेत्रनारायण गौतमले गाउँपालिकामा देखिएका समस्याहरूलाई सबैले आ–आफ्नो क्षेत्रबाट समाधानका लागि पहल गरिदिन आग्रह गरे ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माणमा गाउँपालिका भित्र देखिएका समस्याहरूलाई सम्बोधन हुने गरी समेट्न आग्रह गरे ।

ध्यानाकर्षणपत्रमार्फत शिक्षा स्वास्थ्य र खाद्य अधिकारका विषयमा समूहगत छलफलपछि गाउँपालिका भित्र देखिएका शिक्षा, स्वास्थ्य , खाद्य तथा कृषिसम्बन्धी समस्याहरूको समाधानका लागि अनुरोध गरिएको छ ।


सुशन घिमिरे