इन्सेकद्वारा प्रहरी हिरासतको अनुगमनः वयष्कसँगै बालक हिरासतमा

  ०७६ कात्तिक ९ गते

जिल्ला प्रहरी कार्यालय, दैलेखको हिरासतमा रहेका सार्वजनिक अपराध मुद्दाका आरोपितलाई यातना दिइएको विषयमा इन्सेकको अगुवाईमा मानव अधिकार रक्षकहरूको टोलीले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख र मुद्दा शाखा प्रमुखलाई भेट गरी ध्यानाकर्षण गराएको छ ।

दैलेख महोत्सवको सुरक्षार्थ खटिएका प्रहरीमाथि कात्तिक ३ गते कुटपिट भएको भनिएको घटनामा सार्वजनिक अपराध अन्र्तगत् मुद्दा चलाइएका तीनजनालाई प्रहरीले हिरासतमा यातना दिइएको भन्ने बारे यथार्थ बुझ्न मानव अधिकार रक्षकहरूको टोलीले प्रहरी अधिकारीहरूसंग भेट गरेको थियो ।

घटनामा संलग्न भनिएका पाँच जनामध्ये घटनास्थलबाट कात्तिक ३ गते नै गिरफ्तार गरिएका नारायण नपा–२ का ३४ वर्षीय डेनी थापा, सोही नपा–१ का ३३ वर्षीय नरेन्द्र प्याकुरेल र वीरेन्द्रनगर नपा–१ का २४ वर्षीय सुरेन्द्र तामाङलाई हिरासतमा भेट्न गएको मानव अधिकार रक्षकहरूको टोलीसँगै प्रहरी अधिकारी पनि भएका कारण यातना दिए नदिएको खुलेर भन्न चाहेनन् ।

हिरासत अनुगमनपछि टोलीले जिल्ला प्रहरी कार्यालय, दैलेखका डिएसपी हरिबहादुर ओलीलाई हिरासतमा यातना नदिन सुझाव दिँदै बालबिज्याईंका घटनाका १४ वर्षीय आरोपित बालकलाई अन्य आरोपितसँगै हिरासतमा राखिएको विषयमा चासो राखेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा महिला र पुरुषलाई थुन्ने हिरासत कक्ष मात्र भएका कारण बालकलाई वयस्कसँग राख्नु परेको डिएसपी ओलीले बताए ।

ओलीले बालबिज्याईं अन्तर्गत नियन्त्रणमा राख्नुपर्ने बालबालिकालाई छुट्टै राख्ने व्यवस्था गरिने प्रतिबद्धता जनाए ।

टोलीमा मानव अधिकार समूहका संयोजक रेखा थापा, सदस्य यज्ञराज थापा, नेपाल बार एशोसिएसनका जिल्ला अध्यक्ष यामराज थापा, महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठ र इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार सहभागी थिए ।


अमर सुनार