इन्सेकद्वारा क्वारेण्टाइन र आइसोलेशनको अनुगमन

  ०७७ असार ३० गते

इन्सेक रुपन्देही र नेपाल शहरी उत्थानशिलता परियोजना बुटवलको आयोजनामा बुटवल उपमनपा–१५ सेमलारस्थित नवरत्न उच्च माविमा रहेको क्वारेण्टाइन र सोही उपमनपा– ११ मा रहेको एन्फा एकेडेमीमा रहेको  आइसोलेशनमा असार २९ गते अनुगमन तथा मनोविमर्श सेवा प्रदान गरिएको छ ।

कोरोनाको सङ्क्रमका कारण भारत लगायत  तेस्रो मुलुकबाट आएर क्वारेण्टाइनमा बसेका व्यक्तिहरूलाई लक्षित गरी क्वारेण्टाइनमा बस्दा हुने विभिन्न खालका मानसिक तनावहरुलाई कम गर्न, मन र शरीरसँग सम्बन्धित बिषयहरूलाई व्यवस्थापन गरि सकारात्मक सोंचको विकास गराउन सहयोग पुग्ने अपेक्षाले बरिष्ठ मनोविमर्शकर्ता बेबी शाह र इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले सहजीकरण गर्नुभएको हो  ।

क्वारेण्टाइनमा सकारात्मक सोच, मन र शरीरसँग सम्बन्धित समस्याहरूको व्यवस्थापन, परिवारबाट टाढा रहँदाको  चिन्ता, अस्थिरता र अन्यौलताका कारण हुन सक्ने समस्याहरुको व्यवस्थापन र आत्माबल बढाउने विषयमा सहजीकरण गरिएको थियो ।

photo2020071401rupandehi

उक्त क्वारेण्टाइनमा एक जना महिला र २० जना पुरुष गरी २१ जना रहनु भएको छ । क्वारेण्टाइनमा बसेका मध्ये अधिकांशको होम क्वारेण्टाइनमा बस्न चाहेपनि  समाजले कोरोना सार्छ भन्ने आरोप लगाएका कारण क्वारेण्टाइनमा बस्न बाध्य भएको गुनासो गर्नु भएको थियो ।

सरकारले होम क्वारेन्टाइनको व्यवस्थापनमा जोड दिने भने पनि समाजले अस्वीकार गरेका कारण क्वारेण्टाइनमा राखेर सबै व्यवस्थापन गरेको क्वारेण्टाइन व्यवस्थापन समितिका संयोजक तथा बुटवल उपमनपा–१५ का वडा अध्यक्ष डम्बरबहादुर भण्डारीले अनुगमनको क्रममा इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

संघिय सरकारको निर्णय अनुसार हामीले होम क्वारेन्टाइनमा जोड दिएका छौ,तर स्थानीय टोलबासीले घरमा बस्दा कोरोना सङ्क्रमणको जोखिम बढ्छ भनेका कारण सबै व्यवस्थापन नगरपालिकाले गरेर राखेको छ ” । संयोजक भण्डारीले भन्नु भयो ।

यसैगरी बुटवल उपमनपा– ११ मा रहेको  आइशोलेशनमा हाल जम्मा सात  जना कोरोनो सङ्क्रमित रहनु भएको छ । जसमध्ये  चार जना महिला  र तीन जना पुरुष हुनु हुन्छ ।

अनुगमनको क्रममा आइसोलेशनमा बस्न खान सबै सुविधा राम्रो रहेको पाइयो  । हाल आइसोलेशनमा पाँच जना नवलपरासी पश्चिम जिल्ला र दुई जना  रुपन्देही जिल्लाका रहेका छन् ।  रुपन्देहीका दुई जना असार २९ गते निको भएर घर फर्किएको संयोजक तथा लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा.नलिननाथ तिवारीले बताउनु भयो  ।


रीमा बिसी