इन्सेकको समन्वयमा प्रहरी हिरासत अनुगमन

  ०७६ कात्तिक ४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा इन्सेक र मानव अधिकार सञ्जाल दाङले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयको हिरासत अनुगमन गरेको छ ।

प्रहरीद्वारा गिरफ्तार गरी हिरासतमा राखिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका २१ जना कार्यकर्तालाई उनीहरूको परिवार र आफन्तलाई भेटन नदिएको र लगेको फलफुल पुर्‍याउन नदिएको भन्दै पीडित पक्षले कात्तिक ३ गते इन्सेकमा निवेदन दिँदै भेट्ने वातावरण बनाइ दिन आग्रह गरेका थिए ।

उक्त आग्रहपछि इन्सेक जिल्ला प्रतिनिधिको समन्वयमा मानव अधिकार सञ्जालले जिल्ला प्रहरी कार्यालयको हिरासत अनुगमनसँगै हिरासतमा रहेका प्रतिबन्धित नेकपाका कार्यकर्ताहरू समेतलाई भेटेर उनीहरूको अवस्थाका बारेमा जानकारी लिएको थियो ।

इन्सेक र मानव अधिकार सञ्जालको टोलीले हिरासतमा रहेका उक्त पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द, राप्ती व्युरो सदस्य रामबहादुर थापा, दाङ जिल्ला इन्चार्ज यमलाल कटुवाललगायतलाई भेटेर स्वास्थ्य अवस्था, खाना, बसाई र प्रहरीले गर्ने व्यवहारका विषयमा जानकारी लिएका थिए ।

उनीहरूले नियमित स्वास्थ्य जाँच गर्न, फलफूल खान, रेडियो सुन्न, पत्रपत्रिका पढ्न र आफन्तहरूसँग सहज भेटघाट गर्नका लागि वातावरण बनाई दिन माग गरेका थिए ।

उक्त माग बारे जिल्ला प्रहरी कार्यालयका एसपी जनकप्रसाद भट्टराईले नियमित स्वास्थ्य जाँच भइरहेको, सामूहिक रूपमा भेटघाट समस्या हुने भन्दै व्यवस्थित र तोकिएको समयमा आउने परिवारलाई भेटघाटमा समस्या नभएको र पत्रपत्रिका तथा टेलिभिजनको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । उनले हिरासतमा रहेकाहरूको आधारभुत मानव अधिकारको पालना गर्ने प्रतिवद्धता जनाए ।

अनुगमन टोलीमा इन्सेक जिल्ला प्रतिनिधि जेएन सागर, मानव अधिकार सञ्जालका संयोजक केशवकुमार शर्मा, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासङ्घ दाङका सचिव भुपेन्द्र प्रकाश ओली, मानव अधिकार सञ्जालका सदस्य चिन्तामणि पौडेललगायत रहेका थिए ।

प्रहरीले ०७६ असोज ३० गते राजपुर गाउँपालिका–४ मगराइनाबाट उक्त पार्टीको राप्ती स्तरीय बैठक बसिरहेको अवस्थामा चन्दसहित २१ जनालाई गिरफ्तार गरेको थियो ।


जे.एन.सागर