इन्सेकको पहलमा बिरामीको उद्धार

  ०७७ वैशाख २७ गते

खार्पुनाथ गाउँपालिका–३ रायाका ४० वर्षिय बिरामी रामसिंह बुढालाई इन्सेकको पहलमा वैशाख २६ गते उद्धार गरिएको छ । गाउँ नजिकैको वनमा भेडा चराउन गएको वेला माथिबाट आएको ढुङ्गा लागेर गम्भिर घाइते भएपछि उहाँलाई वैशाख २१ गते जिल्ला स्वाथ्य सेवा कार्यालयमा पुर्‍याइएको थियो ।

ढुङ्गाको चोटबाट बुढाको फोक्सोमा पानी जमेकोले जिल्ला स्वास्थ्य सेवा कार्यालयले हुम्लामा उपचार हुन नसक्ने भन्दै वैशाख २२ गते नै जिल्ला बाहिर लैजान भनेको थियो । बिरामीलाई उद्धार गर्ने तर्फ कसैको ध्यान नगएको भन्दै खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रुपा शाहीले उद्धारको पहलका लागि इन्सेकलाई वैशाख २५ गते मौखिक अनुरोध गर्नु भएको थियो ।

बिरामीको आफन्त समेत पर्ने शाहीको अनुरोध लगत्तै सोही दिन इन्सेक प्रतिनिधि नन्द सिंहले प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईलाई जिल्ला बाहिर पठाउनका लागि गृह मन्त्रालयको सिफारीस बनाउन अनुरोध गरेपछि वैशाख २६ गते बुढालाई सिता एयर मार्फत प्रदेश अस्पताल सुर्खेतमा लिइएको थियो ।

बिरामीको रिफर गरेको ४ दिन सम्म पनि जिल्ला बाहिर उपचारका लागि कसैले सुनुवाई नगरेको आफन्त टेकबहादुर बुढाको गुनासो छ । उहाँले भन्नुभयो –‘इन्सेकको पहलमा प्रशासनले जहाजमा सुर्खेत नपठाएको भए हुम्लामै मर्नु बाहेक अन्य विकल्प थिएन ।’ उहाँका अनुसार हाल बिरामीको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।


नन्द सिंह