इन्सेकको पहलमा विद्यालको पठन पाठन सुचारु

  ०७३ माघ ९ गते

विद्यार्थीहरूकै अगुवाईमा लगाइएको तालाबन्दीका कारण विगत १९ दिनदेखि बन्द रहेको वीरेन्द्रनगर नपा-१० खजुरास्थित सिद्धबहिरा बाल विद्यालय इन्सेकको पहलमा माघ ९ गतेदेखि पठनपाठन सुचारु गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति गठनको विवाद समाधान हुनाको साथै विद्यालयका प्राधानाध्यापक चन्द्रबहादुर कार्कीलाई अन्यत्र काज सरुवा गरेपछि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफैँले लगाएको ताला खोलिदिएका हुन् ।

प्राधानाध्यापक कार्कीलाई तत्काल हटाउनुपर्ने र विव्यस गठन गर्नुपर्ने लगायतका १३ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका विद्यार्थीहरूको माग सम्बोधन गर्न इन्सेक सुर्खेतले पहल गरेपछि ०७३ माघ ८ गते विव्यस गठन गरिनुको साथै प्रअ कार्कीलाई जिल्ला शिक्षा कार्यालय सुर्खेतले श्री संस्कृत तथा साधारण उमाविमा काज सरुवा गरेपछि तालाबन्दी खुलेको सो विद्यालयका शिक्षक रितेश केसीले बताए ।

शनिवार सम्पन्न अभिभावकहरुको भेलाले निवर्तमान अध्यक्ष लोमन बुढाको अध्यक्षतामा विव्यस गठन गरेको थियो । आफ्ना मागहरू पुरा गर्नुपर्ने भनी सो विद्यालयका विद्यार्थीहरूले पुस २१, २५ र माघ ४ गते जिल्ला शिक्षा कार्यालयमा धर्ना समेत दिएका थिए ।

०३७ सालमा स्थापित तथा कक्षा ७ सम्म अध्ययापन हुने सो विद्यालयमा ६५ जना बालबालिकाहरू अध्ययनरत छन् ।

तालाबन्दीपछि इन्सेक सुर्खेतले विद्यालय परिवार, अभिभावक, पूर्व विव्यसका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा कार्यालयसम्म छलफल, भेटघाट र समन्वय गरी ताला खोलेर विद्यालय सञ्चालन गर्न ध्यानाकर्षा गराएपछि जिल्ला शिक्षा कार्यालयले प्रअ कार्कीको काज सरुवा र विद्यालयलाई विव्यस गठन गर्न ताकेता गरेको निमित्त जिल्ला शिक्षा अधिकारी भोजराज लम्सालले जानकारी दिए ।


दुर्गा थापा