इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुट्यो

  ०७७ फागुन १८ गते

इन्सेकको पहलमा यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न जुटेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष, तथा बाल अधिकार समितिकी अध्यक्ष दिपा गौतमले पीडित परिवारलाई फागुन १६ गते नौ हजार रुपियाँ बराबरको खाद्यान्न र अन्य आवस्यक सामग्री हस्तान्तरण गर्नु भएको हो ।

१३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको परिवारमा खानाको अभाव भए पछि मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग पीडित परिवारलाई  खाद्यान्न उपलब्ध गराउन माग गरेका थिए ।

माग पत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष दिपा गौतमले तत्कालनै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।

इटाँ  भट्टामा मजदुरी काम गर्दै आएका आरोपितले छोरीलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय, मोतिपुरमा ०७७ माघ २६ गते उजुरी दर्ता भएको थियो । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

पीडित बालिका र उनका तीन भाईबहिनीलाई आरोपितले मज्दुरी गरी पाल्दै आएका थिए । आरोपित गिरफ्तार भएपछि पीडितकी ७६ वर्षीय हजुरआमा र बालबालिका  असहाय रुपमा भोक भोकै असुरक्षित तरिकाले बस्न पर्ने अवस्था आएको थियो ।


मानबहादुर चौधरी