इन्सेकको पहलमा बेवारिसे महिलालाई आवास तथा खानाको व्यवस्था

  ०७६ माघ १६ गते

सल्यानमा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेकी एक महिलालाई इन्सेकको पहलमा आवास तथा खानाको व्यवस्था मिलाइएको छ ।

जाजारकोट घर बताउँदै आएकी करिब ५२ वर्षीया सेतु बुढा मगर नाम गरेकी महिलालाई प्रहरीले खैराबाँग मन्दिर नजिकबाट माघ १४ गते फेला पारेको थियो ।

महिलाको आफन्त नआउँदासम्म जिल्लास्थित सुरक्षित आवास गृहमा ती महिलालाई आवास तथा खानाको व्यवस्था मिलाइएको इन्सेक सल्यानले जनाएको छ ।

मानसिक रुपले अस्वस्थ रहेकी ती महिलालाई इन्सेकको पहलमा न्यानो कपडाको समेत व्यवस्था गरिएको छ । मानव अधिकारको क्षेत्रमा जिल्लामा कृयाशिल रेस नेपाल सल्यानको आर्थिक सहयोगमा प्रमुख जिल्ला अधिकारीमार्फत न्यानो कपडा समेत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले असहाय महिलालाई न्यानो कपडा हस्तान्तरण गर्दै उहाँको परिवार वा अन्य कुनै सहयोगी संस्थासम्म पु¥याउन पहल गर्ने प्रतिबद्वता गर्नुभयो ।

उहाँलाई परिवारसँग सम्पर्क गराउन जिल्ला प्रहरी कार्यालयले पहल गरेपनि हालसम्म कसैले पहिचान नखुलाएकाले समस्या भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले उहाँलाई चिन्ने जो कोहीले नजिकैको प्रहरी चौकी अथवा परिवारलाई खबर गर्न आग्रह गर्नुभएको छ ।

Salyan Salyan 1 Salyan 2


मिना बुढाथोकी