इन्सेकको पहलमा बालविवाह रोकियो

  ०७६ चैत ३ गते

बालविवाह रोकिदिन बालिकाका बाबुले इन्सेकसमक्ष अनुरोध गरेपछि इन्सेकको पहलमा प्रहरीले बालविवाह रोकेको छ ।

खार्पुनाथ गाउँपालिका–३ की १६ वर्षीया सुनदेवी शाही र सोही गाउँपालिका–१ का १६ वर्षीय विकास बुढाले गरेको बालविवाह फागुन ३० गते रोकिएको महिला तथा बालबालिका सेवा केन्द्रकी इन्चार्ज प्रहरी जवान मिनु आलेले बताउनु भयो ।

बालविवाह गर्ने दुवै जना बालबालिका यस अघि नेपालगञ्जमा एसइईको तयारी गरीरहेकोमा उनीहरूको परीक्षा फारम हुम्लाबाट भरिएकाले चैत ६ गतेको एसइई परीक्षाका लागि दुबै जना फागुन २९ गते हुम्ला आएका थिए ।

दुबै जनाले आफू खुसी नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा फागुन २३ गते विवाह गरेको खबर पाएपछि बालिकाका बुवा विष्णुबहादुर शाहीले इन्सेक जिल्ला प्रतिनिधिसँग बालविवाह रोकिदिन अनुरोध गर्नु भएको थियो ।
बालिकाका बुवाले अनुरोध गरेपछि फागुन २९ गते इन्सेक जिल्ला प्रतिनिधिले जिल्ला प्रहरी कार्यालय हुम्लामा मौखिक जानकारी गराएका थिए ।

इन्सेकको पहलपछि दुबै जनालाई फागुन ३० गते प्रहरीले आफ्नो नियन्त्रणमा लिई आफन्तलाई झिकाएर सोहीदिन छलफल गर्दा दुवै बालबालिकालाई आ–आफ्ना आमा बाबुसँग बुझाएर घर पठाएको प्रहरी जवान आलेले बताउनु भयो ।


नन्द सिंह