इन्सेकको पहलमा बालविवाह घटनाको उजुरी दर्ता

  ०७६ पुस २५ गते

१० वर्षीया एक बालिकालाई फकाएर विवाह गर्ने र गराउने विरुद्ध इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता भएको छ ।

फकाएर विवाह गराउने बेसीशहर नपा–२ का ४० वर्षीय शंकर परियार र विवाह गर्ने बेसीशहर नपा–४ का ३५ वर्षीय भीष्म परियार विरुद्ध पिडितकी आमा बेसीशहर नपा–२ निवासी ३० वर्षीया कोपिला परियारले ०७६ पुस २४ गते जिल्ला प्रहरी कार्यालय लम्जुङ्मा उजुरी दिएको डीएसपी रवीन्द्रमान गुरुङले बताउनुभयो ।

पिडित परियारले कालिका मिलन माविमा कक्षा ५ मा अध्ययनरत बालिकालाई आरोपितले ०७६ मङ्सिर २८ गते फकाएर बालविवाह गर्न प्रेरित गरेको र मङ्सिर २८ देखि पुस ९ गते सम्म बालिकालाई आरोपित भीष्म परियारले बन्धक बनाएर राखेको उजुरीमा उल्लेख गरेको डीएसपी गुरुङले बताउनुभयो ।

पिडित बालिका पुस ९ गते भागेर घर आएपछि यो कुरा बाहिर ल्याएमा ज्यान मार्ने धम्कीसमेत आएको आमा कोपिला परियारले बताउनुभयो ।

घटना पश्चात इन्सेक जिल्ला प्रतिनिधी दलबहादुर मजाकोटीसँग सम्पर्क र सल्लाह भए लगत्तै प्रहरीमा उजुरी दिएको पिडित बालिकाकी आमाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यलयका डीएसपी गुरुङका अनुसार आरोपित फरार रहेका र खोजी कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले आरोपित भेटेपछि कानुनी प्रकृयामा लैजाने र उनीहरु विरुद्ध बालविवाह र बलात्कार दुवै प्रकृतिको मुद्दा चलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले पिडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल लम्जुङमा पुस २४ गते गरिएको जानकारी दिनुभयो ।


दलबहादुर मजाकोटी