इन्सेकको पहलमा पीडित महिलाले नागरिकता पाइन

  ०७५ वैशाख २५ गते

बालविवाह गरेका कारण सुरूमा विवाह दर्ता समेत गराउन नपाएकी एक महिला उमेर पुगेपछि परिवारजनले असहयोग गरेर नेपाली नागरिकता लिन अन्यौल परेको अवस्थामा इन्सेकको पहलमा नेपाली नागरिकता प्राप्त गरेकी छन् ।

नारायण नपा-४ की रञ्जना कटुवाल १३ वर्षकी हुँदा गाउँकै मानबहादुर कटुवालसँग बावुआमाले विवाह गराइदिए । त्यसको दुई वर्षमा जन्मेको छोरा सर्वराजको जन्म दर्ता पनि बन्यो ।

छोराको जन्मदर्ता त बन्यो तर रञ्जनाको उमेर १८ वर्षनपुग्दासम्म नगरपालिकाले विवाह दर्ता गर्न नमिल्ने बतायो, विवाहदर्ता नभएको कारण नेपाली नागरिकता पाउन कठिन बनेको थियो ।

जब उमेर १८ वर्षपुग्यो विवाहदर्ता र नागरिकताको कुरा गर्दा मानबहादुरले आनाकानी गरे, बनाउन मानेनन् ।

नागरिकता बनाउन फकाएर नमानेपछि प्रहरी प्रशासन गुहार्दा मानबहादुर घर नै छोडेर भागे । जेठाजु बलबहादुर कटुवाल र सासू नरमा कटुवालले दबाव दिएका कारण आफू घरमै बसेर पनि विवाह दर्ता र नागरिकता बनाउन अवरोध भएको रञ्जनाले सुनाइन् ।

विवाह दर्ता र नागरिकता बनाउन अवरोध मात्र नभएर घरमा बस्न, खान नदिएको भन्दै इन्सेकको पहलमा कानुनी सहायता केन्द्रको सहयोगमा उनले दैलेख जिल्ला अदालतमा दिएको अंश मुद्दा सफलतापछि नागरिकता पाउन बाटो खुल्यो ।

०७४ जेठमा दिएको अंश मुद्दा ०७४ चैत १२ गते भएको फैसलामा 'छोरा सर्वराज कटुवालको जन्म दर्तामा आमा रञ्जना र बावु मानबहादुर कटुवाल उल्लेख भएबाट उनीहरू पति-पत्नी ठहर्ने भएकोले अंश पाउन हक पुग्छ' भन्ने आदेशका आधारमा जिल्ला प्रशासन कार्यालयले वैशाख २४ गते रञ्जनालाई नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ ।

अदालतको फैसला, छोराको जन्मदर्ता समेत संलग्न राखी रीतपूर्वकको निवेदन पेश गरेकामा रञ्जनाका जेठाजु र सासूलाई समेत झिकाउँदा आनाकानी गरेकाले अदालतको फैसलाको आधारमा पति मानबहादुर कटुवाल उल्लेख गरी रञ्जनालाई नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए ।

रञ्जनालाई नागरिकता दिलाउनका लागि अदालतबाट भएको फैसला सम्बन्धमा सम्बन्धित वडाका वडा अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसँग इन्सेककर्मीले भेट गरी छलफल गरेका थिए ।

वडा कार्यालय र प्रशासन कार्यालयबाट नागरिकता दिन मिल्दैन की भन्दै ढिलासुस्ती गरेको अवस्थामा इन्सेकले यस विषयमा नियमित पैरवी गरेको थियो ।

लामो सङ्घर्ष अनि अधिकारकर्मी संस्थाको पहल, न्यायिक निकाय र प्रमुख जिल्ला अधिकारीको सदभावले आफूले नागरिकता पाएको रञ्जनाले बताइन् । नागरिकता पाउँदा आफूले लडाई जितेजस्तो खुशी लागेको उनले टिप्प्पणी गरिन् ।


अमर सुनार