इन्सेकको पहलमा पीडित महिलाले माना चामल पाइन्

  ०७६ साउन २५ गते

इन्सेकको पहलमा हिलिहाङ गाउँपालिका–३ की २४ वर्षीया बसन्ती देवानले फिदिम नपा–२ का २६ वर्षीय पूर्व पति किशोर तुम्बापोबाट अदालतको फैसला अनुसार माना चामल बापतको रकम साउन २३ गते प्राप्त गरेकी छिन् ।

 

इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघाको सहजिकरणमा पीडित महिलाले पूर्व पतिबाट माना चामल बापत १ लाख रुपियाँ प्राप्त गरेकी हुन् ।

 

फिदिम नपा–२ का वडा अध्यक्ष सुकपाल तुम्बापो, वकिल टिका तिम्सिना समेतको उपस्थितिमा पीडितलाई आरोपित तुम्बापोले रकम हस्तान्तरण गरेका हुन् ।

 

दुवै पक्षबीच भएको सहमति अनुसार अंशवण्डा घरसारे मिल्ने र माना चामल बापतको रकम लेनदेन गरिनेछ ।

 

पीडित महिलाले पतिबाट कुटपिट गर्नुका साथै खान लाउन नपाएको भन्दै ०७४ भदौ १० गते सहयोगको अनुरोधसहित इन्सेक जिल्ला प्रतिनिधि समक्ष निवेदन दिएकी थिइन् ।

 

इन्सेक प्रतिनिधि बेघाले दुवै पक्षबीच छलफल गराए पनि मेलमिलाप हुन नसकेपछि पीडित महिलाले सम्बन्ध विच्छेद, अंशवण्डा र माना चामल मुद्दामा भदौ २९ गते जिल्ला अदालतमा उजुरी दर्ता गराएकी थिइन् ।

 

सो अदालतका न्यायाधीश मनोज केसीको इजलासले ०७५ असोज ९ गते पीडितको पक्षमा फैसला गरेको थियो ।


मङ्गल बेघा