इन्सेकको पहलमा पीडितले न्याय पाइन्

  ०७६ चैत ३ गते

दुहुँ गाउँपालिका –५ की घरेलु हिंसा पीडित महिला २९ वर्षीया जानकी बोहराले इन्सेकको पहलमा न्याय पाउनु भएको छ ।

ससुराले आफूलाई निरन्तरत रूपमा लागीगलौज गर्नुको साथै  दोस्रो विवाह गरेर जा भन्दै घरबाट निकाल्ने धम्की दिदै आएकाले न्यायका लागि पहल गरिदिन भन्दै माघ ३० गते इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीलाई पीडित महिलाले लिखित निवेदन दिनु भएको थियो ।

नेपाल प्रहरीमा कार्यरत ३० वर्षीय पति रामसिह बोहराले जागिर छोडेर सम्पर्कविहिन भएदेखि ६३ वर्षीय ससुरा  विरसिह बोहराले आफूलाई लागीगलौज गर्नुको साथै घरमा नबस्न धम्की दिदै आएको पीडित महिलाले इन्सेकलाई दिएको निवेदनमा उल्लेख गर्नु भएकाे छ ।

पीडितले दिएको निवेदनका आधारमा इन्सेक जिल्ला प्रतिनिधि कार्की जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उपस्थित भइ पीडितको न्यायका लागि निवेदन दिइएको थियो ।

इन्सेकले गरेको पहलका कारण प्रहरीले पीडित महिलाका ससुरालाई चैत २ गते  जिल्ला प्रहरी कार्यालयमा बोलाइ छलफल गर्दा पीडक बोहराले आफूबाट गल्ती भएको भन्दै माफी मागेको र उपरान्त बुहारीमाथि कुनै प्रकारको गालीगलौज र धक्की नदिने सहमतिपछि मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय,दार्चुलाका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले बताउनु भयो ।

यसअघि पनि इन्सेकले पीडित बोहराका पतिको खोजी कार्यका लागि प्रहरीलाई आग्रह गरेको र प्रहरीले पनि निरन्तर रूपमा खोजी कार्य गरिरहेको इन्स्पेक्टर जाशीले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘सम्पर्क विहिन भएका प्रहरी जवान बोहरालाई पत्र काटेको ४५ दिन भित्र कार्यालयमा उपस्थित हुन भनिएको छ  । सो समयवधिसम्म पनि उपस्थित नभएको खण्डमा प्रक्रिया अनुसार राष्ट्रिय पत्रिकामा सुचना प्रकाशित गर्दै थप खोजी गरिने छ ।’

जागिर छोडेर सम्पर्कविहिन भएकाका पतिको खोजतलासमा सहयोग गरिदिन भन्दै पीडित महिलाले फागुन १० गते इन्सेकमा निवेदन दिनु भएको थियो ।  जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत बोहराका पति एक महिनादेखि सम्पर्क विहिन छन् ।

१२ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत बोहरा विगत चार वर्षदेखि विरामी भएको वहाना बनाउँदै घर नआउने गरेको पीडित परिवारको भनाइ छ । पीडित महिलासँग दुई छोरी छन् ।

 

 

 


नरेन्द्रसिह कार्की