इन्सेकको पहलमा उपचार सुरु

  ०७६ चैत ११ गते

आर्थिक अभावका कारण घुरको आगोमा जलेर गम्भीर घाइते हुनु भएकी बोदे बर्साइन नपा–१० की २५ वर्षीया रञ्जुदेबी यादवको इन्सेक सप्तरीको पहलमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार सुरु भएको छ ।

photo20200324saptari (1)

फागुन २५ गते राजविराजस्थित अस्पताल भर्ना हुनु भएकी घाइते औषधि उपचार र खर्च अभावमा फागुन २८ गते घर फर्किएर उपचारविहीन भई घरमै थला परेकोमा इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलकोे पहलमा उपचार सुरु भएको घाइतेको परिवारले जनाएको छ । गरिब, असहायका लागि व्यवस्था रहेको सामाजिक सेवा इकाईमार्फत औषधि उपचार गर्न इन्सेक प्रतिनिधिले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दाससँग आग्रह गर्नुभएपछि अस्पतालले घाइतेको पुनः उपचार सुरु गरेको हो । सामाजिक सेवा इकाईले औषधि उपचार गर्दा घाइते र कुरुवालाई उपलब्ध गराउनु पर्ने रगतलगायत पौष्टिक खाना, जुस, फलफूललगायतको बाह्य खर्च इन्सेक प्रतिनिधिले व्यवस्था गर्ने विश्वास दिलाए पछि अस्पताल उपचार गर्न तयार भएको हो ।

photo20200324saptari (10)

इन्सेक प्रतिनिधिले बोदे बर्साइन नपा–३ मानराजास्थित माइतमा रहेकी घाइतेलाई अस्पतालको एम्बुलेन्समा राजविराज ल्याएर उपचार सुरु गरेको घाइतेकी आमा कौशिल्याले बताउनु भयो । सर्जन डा. सरोज यादवको प्रत्यक्ष निगरानीमा अस्पतालले उपचार सुरु गरेको छ । आगोले अधिकांश भाग जलेर घाइते भएकी रञ्जुको उपचार निकै खर्चिलो हुने भए पनि अस्पतालले उपलब्ध औषधिहरु र चेकजाँच निःशुल्क गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. दासले बताउनु भयो ।

photo20200324saptari (6)

इन्सेक प्रतिनिधिको आग्रहमा चैत ९ गते राजविराज जेसीज र ग्रीन नेपालबाट तीन पोका रगत उपलब्ध भएको छ । घाइतेका लागि राजविराज जेसीजका उमेशकुमार यादव, कौशलकुमार साह र रामकुमार यादवले रक्तदान गर्नुभयो । राजविराज जेसीजले जुस, फललगायत पौष्टिक खानाको व्यवस्था गरेको छ ।

photo20200324saptari (7)

 

इन्सेक अनलाइनमा प्रकाशित ‘गरिबीका कारण आगोले जलेकी रञ्जु उपचार अभावमा’ र अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित ‘घुरमा जलेको जीवन’ समाचार पढेर उपचारका लागि जनकपुरका रबी गोयन्काले चैत १० गते इन्सेक सप्तरी जिल्ला प्रतिनिधिलाई १० हजार रुपियाँ सहयोग पठाउनु भएको छ ।

photo20200324saptari (8)

जाडो लागेर माघ २६ गते बिहान घुर बालेर आगो ताप्दै गरेका बेला निदाएकी रञ्जुको साडीमा आगो लागेर गम्भिर घाइते भएकी हुन् । बिराटनगरस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.ले एक दिनमा ड्रेसिङ्ग चार्ज २० हजारसहित उपचार खर्च ३६ हजार रुपियाँको बिल तिर्न लगाए पछि खर्च सकिएर घाइते माघ २७ गते घर फर्कनु भएको थियो । त्यस्को एक महिनापछि फागुन २५ गते राजविराजस्थित अस्पताल भर्ना हुनु भएकी घाइते औषधि किन्ने खर्च नभए पछि घर नै फर्कनु भएको थियो ।

photo20200324saptari (5)

इन्सेकको पहलमा पुनः उपचार सुरु भएपछि बाँच्ने आशा पलाएको घाइतेले बताउनु भयो । ‘घरजग्गाको नाममा घरबाहेक अरु केही छैन, अन्य कुनै आर्थिक स्रोतसमेत नभएकाले ऋणकर्जामा परेर निकै समस्यामा परेको छु’ भन्दै घाइतेका पति बबलेश यादवले दुखेसो पोख्नु भयो र भन्नुभयो– ‘औषधि उपचार सुरु भएकोमा धन्यवाद व्यक्त गर्दछु तर उपचारमा लामो समय लाग्ने भएकाले अस्पतालमा नपाइने औषधिको पिरलो भने रहेको छ ।’


मनोहरकुमार पोखरेल