इन्सेकको पहलमा उपचाररत मनोरोगी महिलालाई थप उपचारका लागि विराटनगर पठाइयो

  ०७६ असार १४ गते

अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ बाट फेला परेकी मनोरोगी बेवारिस एक महिलालाई थप उपचारका लागि असार १४ गते विराटनगर पठाइएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत उनको आवश्यक स्वास्थ्य उपचारका साथै मानसिक रोगको उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दासले बताए ।

डा. दासका अनुसार राजविराजमा मानसिक रोगको उपचार नहुने भएकोले उपयुक्त उपचारका लागि उनलाई विराटनगर पठाइएको हो ।

हात्तीको आक्रमणमा परेर घाइते अवस्थामा फागुन ९ गते फेला परेकी बेवारिस महिलाको राजविराजस्थित अस्पतालमा इन्सेकको पहलमा उपचार भइरहेको थियो ।

‘बेवारिसे अवस्थामा फेला परेकी महिला स्वास्थ्य र सामाजिक सुरक्षाबाट वञ्चित’ शीर्षकको समाचार चैत २० गते इन्सेक अनलाइनमा प्रकाशन भएपछि इन्सेक सप्तरीकै पहलमा उनको राजविराजस्थित अस्पतालमा निःशुल्क उपचार र स्याहार भएको थियो ।

समाचार प्रभावले डिभिजन वन कार्यालय, सप्तरीले इन्सेक सप्तरी प्रतिनिधिमार्फत १० हजार नगद उपलब्ध गराएपछि बेवारिस महिलाको दाहिने हातमा स्टिल जडान गरिएको छ ।

उनकोे पुनर्स्थापनाको प्रयास गरिरहेकै बेला वैशाख १४ गते अस्पतालबाट ‘बेपत्ता’ भएकी महिला असार २ गते राजविराज–२ स्थित सडकबाट फेला परेकी थिइन् ।

उनलाई असार ३ गते उद्धारका साथै पुनस्र्थापनाका लागि भक्तपुरस्थित आफ्नो घर आश्रम पठाइए पनि राख्ने ठाउँ नभएको भन्दै फर्काएपछि असार ४ गते इन्सेककै पहलमा राजविराजस्थित अस्पतालमा भर्ना गरिएको थियो ।

इन्सेक अनलाइनमा असार ४ गते ‘उद्धार गरिएकी मानसिक बिरामीले आश्रयस्थलमा आश्रय पाइनन्’ शीर्षकमा समाचार प्रकाशित छ ।

सप्तकोशी नपा–४ स्थित फत्तेपुरको बलार्दह चोक नजिकबाट जेठ ९ गते फेला परेका मानसिक रोगी मोरङ उमनपा–४ घर बताउने करिब ५० वर्षीय दिलकुमार लिम्बुलाई उपचार तथा स्याहारका लागि इन्सेकको पहलमा अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले असार १३ गते मकवानपुरको हेटौँडास्थित मानव सेवा आश्रम पठाएको छ ।


मनोहरकुमार पोखरेल