इन्सेकको पहलमा उच्च अदालतमा रिट दायर गरेका रोशनलाई नागरिकता

  ०७६ जेठ १० गते

पोखरा मनपा–९ पृथ्वीचोकका १८ वर्षीय रोशन गुरुङले जेठ ९ गते आमाको नामबाट नागरिकता पाएका छन् ।

उच्च अदालत पोखराले परमादेश जारी गरेको एक महिनापछि जिल्ला प्रशासन कार्यालय, कास्कीले आमा कन्याकुमारी गुरुङको नामबाट वंशजको आधारमा उनलाई नागरिकता दिलाएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ऋषिराज आचार्यले नागरिकता प्रमाणित गरेका छन् । नागरिकता पाएपछि रोशनले खुसी व्यक्त गर्दै भने–‘बल्ल न्याय पाएको अनुभूति भएको छ । केही काम गर्न पाएको थिइनँ ।’–उनले भने–‘अब सजिलो हुने भयो ।’

गुरुङले ०७४ कात्तिक १२ गते जिल्ला प्रशासन कार्यलय, कास्कीमा बाबु बेपत्ता भएका कारण आमाको नामबाट नागरिकता पाउँ भनी निवेदन दिएका थिए ।

तर, प्रशासकीय अधिकृत गुरुदत्त ढकालले बाबुको नागरिकता नभएको भन्दै सङ्घीय कानुन बमोजिम हुने हुँदा सोही बमोजिम निवेदकलाई जानकारी गराइदिनु भनी निवेदन फिर्ता पठाइदिएका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को परामर्श र पहलमा गुरुङले जिल्ला प्रशासन कार्यलय, कास्कीलाई प्रतिवादी बनाई आमा कन्याकुमारी गुरुङको नामबाट नागरिकता पाउँ भनी उच्च अदालत पोखरामा कात्तिक ३० गते रिट दायर गरेका थिए ।

०७६ वैशाख ४ गते उच्च अदालत पोखराका न्यायाधिशद्वय जीवनहरि अधिकारी र विनोदप्रसाद शर्माको इजलासले गुरुङलाई आमाको नामबाट नागरिकता दिन जिल्ला प्रशासन कार्यलय, कास्कीका नाम परमादेश जारी गरेको थियो ।

नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था छ ।

धारा १२ मा वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैङ्गिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने भनिएको छ ।

नागरिकता ऐन २०६३ को दफा ३ को उपदफा १ मा कुनै व्यक्तिको जन्म हुँदा निजका बाबुआमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने व्यवस्थाले बाबु वा आमालाई परिभाषित गरेको छ ।


सुशन घिमिरे