इन्सेकको नेतृत्वमा अलपत्र मजदुरको उद्धार

  ०७७ वैशाख ३१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको नेतृत्वमा काठमाडौँका सडकमा अलपत्र मजदुरको उद्वार गरिएको छ ।

इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमको नेतृत्वमा वैशाख ३० गते काठमाडौँ वीर अस्पताल आसपास क्षेत्रमा अलपत्र मजदुरको उद्धारका लागि टोली पुगेको थियो ।

मजदुरको उद्धारका लागि ३० गते इन्सेकको नेतृत्वमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल एवम् विश्वास नेपालको सहजिकरणमा सञ्चारकर्मी सहितको टोली वीर अस्पताल, खुला मञ्चलगायतका क्षेत्रमा रहेका अलपत्र मजदुर र सडक मानवको अवस्थाबारे जानकारी लिएको थियो ।photo20200512Bhaktapur

अलपत्र मजदुरको उद्धारका लागि लाइन्स क्लब अफ काठमाडौं गुल्मोहकका संस्थापक अध्यक्ष संदीप पराजुली, लायन्सकर्मी लक्ष्मी महत उक्त स्थानमा पुग्नु भएको थियो ।

अपरान्ह ५ः३० बजे सिद्धाश्रम शक्ति केन्द्रले खुलामञ्चमा खुवाएको निःशुल्क खाना खाएका १ सयभन्दा बढी मजदुर तथा सडक मानवहरू उद्धारकर्मीहरू पुगेपछि तितरबितर भएका थिए ।

नयाँ मान्छेको टोली त्यस स्थानमा पुगेर उद्धारको पहल गर्न थालेपछि धेरै मजदुर र सडक मानव झुम्मिएर पैसा माग्न थालेको तर उद्धार गर्न खोज्दा नामानेको इन्सेक बागमती प्रदेश संयोजक गौतमले बताउनु भयो ।

उद्धार गर्न पुगेको टोलीसँग जान नमानेपछि अर्घाखाँची पाँडेनी गाउँपालिका घरभई बागबजारको लुम्बिनी भोजनालयमा काम गर्दै आएका ५७ वर्षीय गिरिराज पोखरेललाई मात्रै उद्धार गरिएको छ ।

विगत १८ वर्षदेखि विभिन्न ठाउँको होटलहरूमा काम गर्दै आउनु भएका पोखरेल लकडाउनपछि पछिल्लो समय काम गर्दै आएको होटल पनि बन्द भएको कारण सडकमा अलपत्र पर्नु भएको थियो ।

“चैत १८ गतेसम्म लकडाउन हुन्छ, त्यसपछि फेरी आउनु पर्छ भनेर घर गइन, आफूसँगैका सबै त्यसअघि नै घर गए, खान त पाएको छु, विभिन्न सङ्घसंस्थाले ल्याएर खुवाउँछन्, सुत्ने भने यही सडक पेटी मै हो” पोखरले भन्नुभयो । उहाँलाई उद्धार गरी कपनस्थित नवदुर्गा क्याटरिङ्गमा लगिएको छ ।

वीर अस्पतालको पेटीमा पाँचवर्षे छोरा राउलसँग भेटिएकी २१ वर्षीया स्वस्तिका धामी परिवारको अवस्था नाजुक छ । सिन्धुपाल्चोकको तातोपानी घर भएकी स्वस्तिका, पति र एक बहिनी सडक पेटीमा रात गुजार्दै आएका छन् ।

घर बनाउने मजदुरको काम गर्दै आएको यो परिवार लकडाउनपछि सडकमा आएको स्वस्तिका बताउनुहुन्छ । काम नभएपछि सडकमा परेको बताउदै उहाँले भन्नुभयो–“बिहान बेलुका खाना पाएका छौ, सुत्न भने यही पेटी, पाटी तिर सुत्छौ,’ उहाँले भन्नुभयो । ‘उद्धार गर्ने टोलीसँग किन जानु, जादैनौ, त्यहाँ भित्र बसेपछि बाहिर निस्कनै पाइदैन, यहाँ भने बाहिर घुमेर बस्न पाइन्छ ।”

कोरोना सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन सुरु गरेदेखि काभ्रे कोशीपारी फलाटेका पदम र छिरिङ तामाङ्ग दाजुभाइको बास सडक पेटी मै भएको छ । तामाङ दाजुभाइ गौरीघाटमा कोठा लिएर बसेका थिए । लकडाउनपछि घरबेटीले बस्न दिएनन्, लाउने लुगा, रासन अरु सामान समेत झिक्न नदिएपछि कामको खोजीमा भौतारिदै सडकमा बस्दै आएका छन् ।

घर बनाउने काममा मजदुरी गर्दै आएका तामाङ्ग दाजूभाइलाई खाने, बस्ने, अन्य आवश्यक सुविधा र बिरामी परे औषधि उपचारको व्यवस्था गरिदिने बताउँदा पनि आफूहरूसँग आउन नमानेको लायन्स क्लबका अध्यक्ष पराजुलीले बताउनु भयो ।

वीर अस्पताल, खुला मञ्च, रत्नपार्कलगायतका क्षेत्रमा बस्ने अधिकांश अलपत्र मजदुरदेखि सडक मानवहरू, बालबालिका र महिलाहरूले कुनै पनि स्वास्थ्य सामग्री प्रयोग गरेका थिएनन् । न त सामाजिक दुरी नै कायम गरेका थिए । प्रहरीका अनुसार दिएको मास्क पनि उनीहरू प्रयोग गर्दैनन् ।

उद्धारको नेतृत्व गर्नुभएका इन्सेक बागमती प्रदेश संयोजक गौतमले मजदुर बिचल्लीमा परेको जानकारी पाएपछि उद्धारका लागि आएको तर समस्यामा परेका भनिएका सबै उद्धार टोलीसँग जान भने नमानेको बताउनुभयो ।

काठमाडौँका विभिन्न ठाउँबाट मानव सेवा आश्रमले उद्धार गरेर लगेको १ सय ५० जनाभन्दा बढीलाई दुई दिन अघि खुला मञ्चमा ल्याएर छाडिदिएपछि झन समस्या थपिएको जनसेवा प्रहरी कार्यालयका डिएसपी सुशीलजङ्ग शाहले बताउनु भयो ।

उद्धार गर्न आएका लाइन्स क्लब अफ काठमाडौं गुल्मोहकका संस्थापक अध्यक्ष पराजुलीले उद्धारपछि कपनको नवदुर्गा पार्टी प्यालेसमा राख्ने गरेको बताउनु भयो ।

सुरुमा ६० जनासम्म रहे पनि धेरै घर फर्किएकाले अहिले २२ जना रहेको र १ सय २० जनासम्म राख्ने क्षमता भएको उहाँले बताउनु भयो ।


रमेश गिरी