इन्सेककर्मीको संयोजकत्वमा सुदूर पश्चिम प्रदेशमा निर्वाचन सरोकार मञ्च गठन

  ०७६ कात्तिक ९ गते

सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लामा हुने उपनिर्वाचनलाई मर्यादित बनाउन इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीको संयोजकत्वमा निर्वाचन सरोकार मञ्च गठन गरिएको छ ।

सुदूर पश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीको अयोजनामा आगामी मङ्सिर १४ गते रिक्त रहेका जनप्रतिनिधिका ठाउँमा हुने उपनिर्वाचनलाई सुदूर पश्चिम प्रदेशमा स्वच्छ, निश्पक्ष र मर्यादित बनाउनका लागि जोशीको संयोजकत्वमा प्रदेश स्तरीय १५ सदस्यीय निर्वाचन सरोकार मञ्च गठन गरिएको छ ।

सुदूर पश्चिम प्रदेशका पाँच जिल्ला (बैतडी, बाजुरा, डोटी, अछाम र कञ्चनपुर)का विभिन्न स्थानीय तहका सात वडामा उपनिवर्नचन हुने भएको छ ।

बैतडीको पुर्चौडी नपा–४, सुर्नया गाउँपालिका–१ र दोगडाकेदार गाउँपालिका–४, डोटीको आदर्श गाउँपालिका–२, अछामको मेल्लेख गाउँपालिका–५, बाजुराको त्रिवेणी नपा–१ र कञ्चनपुरको पुनर्वास नपा–३ मा रिक्त वडा अध्यक्ष पदका लागि आगामी मङ्सीर १४ गते उपनिर्वाचन हुने भएको छ ।

जोशीको संयोजकत्वमा गठित मञ्चका सदस्यहरूमा नेपाल कम्युनिष्ट पार्टीका दीर्घराज जोशी, नेपाली कांग्रेसका केशव मिश्र, सङ्घीय समाजवादीका गया प्रसाद कुश्मी, राष्ट्रिय जनता पार्ठीकी सरीता चौधरी, नागरिक समाजका प्रमोद पाठक, कैलाली उद्योग वाणीज्य सङ्घका पुष्करराज ओझा, एड्जस नेपालकी चित्रा पनेरु, साझा पार्टीका सिद्धराज पनेरु, धनगढी उपमहानगरपालिका–३ की वडा सदस्य राधा बिक, दलित अधिकारकर्मी चक्रबहादुर बिक, पत्रकार चित्राङ्ग थापा, निर्वाचन पर्यवेक्षण संस्थाका प्रतिनिधि डिल्लीराज जोशी, अखिल नेपाल महिला सङ्की रेखा कुवँर र महिला सङ्घकी पुष्पा भट्ट रहेका छन् ।


मैनामोती चौधरी