इन्सेककर्मीको अनुगमनका क्रममा खोप केन्द्रका लागि कोठा उपलब्ध गराउने प्रतिबद्धता

  ०७६ भदौ ४ गते

वीरेन्द्रनगर नपा–११ झुप्रामा साउन २ गतेदेखि पुनः सञ्चालनमा आएको गाँउघर खोप केन्द्रका लागि वडा कार्यालयले कोठा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको सवाल तथा पुनः सञ्चालनमा ल्याइएको खोप केन्द्रको अवस्था बारेमा अनुगमन गर्न पुगेको इन्सेक कर्णाली प्रदेश कार्यालयको टोलीसमक्ष वीरेन्द्रनगर नपा–११ का वडाध्यक्ष नन्दलाल शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

टोलीले अनुगमनको क्रममा पाइएको अवस्थाको बारेमा भदौ ४ गते वडाध्यक्ष शर्माको ध्यानाकर्षण गराएपछि खोप केन्द्रका लागि नवजीवन प्राथमिक विद्यालयको एक कोठा उपलब्ध गराउने र प्रत्येक महिनाको १५ गते पर्याप्त औषधि सहितको स्वास्थ्यकर्मी झुप्रामा परिचालन गर्ने प्रतिबद्धता आएको हो ।

प्रत्येक महिनाको २ गते एकजना स्वास्थ्यकर्मी झुप्राखोलामा गई खोप केन्द्र सञ्चालन गरेपनि वर्षायामसँगै लाग्ने रुघाखोकी, टाइफाइड र झाडापखाला लगायतका रोगहरू लागेमा समयमै उपचार पाउन नसकेको धनसरा बादीले बताइन् ।

बादी समुदायसहित १ सय १६ घर परिवारका ५ सयभन्दा बढी झुप्राखोलाबासीका लागि महिनामा एक दिन सञ्चालन गरिने खोप केन्द्रमा पर्याप्त औषधि उपलब्ध नगराइएको धनसराले आरोप लगाइन् ।

गर्भवती लगायतका गोप्य रूपमा चेकजाँच गर्नुपर्ने रोगका लागि छुट्टै कोठा नहुँदा झुप्राका बादी समुदायले महिनाको एकपटक सञ्चालन गरिने खोप केन्द्रमा उचित स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनु परेको झुप्राकी स्वयम्सेविका तारा बादीले बताइन् ।

नवजीवन प्राथमिक विद्यालयको कार्यालय कोठाबाटै खोप केन्द्र सञ्चालन गरिँदा यहाँका महिला तथा बालिकाहरू खोप केन्द्रमा उपचार गर्न नआउने गरेको तराको भनाई छ ।

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन पहल कार्यक्रम अन्तर्गत गठित मानव अधिकार निगरानी समूहले असार ८ गते वीरेन्द्रनगर नपा, नगर स्वास्थ्य शाखा र ११ नम्बर वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएपछि साउन २ गतेदेखि यहाँ खोप केन्द्र सञ्चालनमा आएको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदी र जिल्ला प्रतिनिधि दुर्गा थापाले झुप्राखोलामा सञ्चालनमा आएको खोप केन्द्र तथा वीरेन्द्रनगर नपावडा नं १० र ११ को शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बारेमा अनुगमन गरेका थिए ।


दुर्गा थापा