इञ्जिनियर हत्या आरोपितहरूलाई कैद सजाय

  ०७६ असोज ७ गते

राजविराज नपा-६ का ५० वर्षीय इञ्जिनियर हरिनारायण देवको हत्या गरेको कसुरमा महादेवा गाउँपालिका-१ पकरीका ३८ वर्षीय हरेराम यादवलाई असोज ५ गते पाँच वर्षकैद सजायको फैसला भएको छ ।

न्यायाधीश उमेश कोइरालाको इजलासले मार्ने संयोग पारिदिने कसुर गरेको ठहर गर्दै यादवलाई पाँच वर्षकैद सजायको फैसला गरेको जनाएको छ । गङ्गारामविरूद्ध ०७४ कात्तिक १९ गते अदालतमा मुद्दा दायर भएको थियो ।

यसैगरी अन्य आरोपितहरू अग्नीसाइर कृष्णसवरण गाउँपालिका-४ का ५३ वर्षीय श्रीप्रसाद मण्डल, छिन्नमस्ता गाउँपालिका-४ लालापट्टीका २७ वर्षीय अजित सिंह भनिने अजय यादव र अग्नीसाइर कृष्णसवरण गाउँपालिका-४ प्रसवनीका ३० वर्षीय अविनाश भनिने उपेन्द्र यादवलाई संलग्नताको मात्रा समेतलाई दृष्टिगत गरी जनही एक वर्षकैद सजायको फैसला भएको छ ।

आरोपितहरूले मुतलबीको भूमिका निर्वाह गरेकोसम्म देखिँदा तत्कालिन मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ नम्बरको ३ अन्तर्गत कसुर अपराध गरेको ठहर गर्दै जनही एक वर्षकैद सजायको फैसला गरेको न्यायाधीश कोइरालाले जनाए ।

जिल्ला अदालतले ०७१ फागुन ११ गते यादव, मण्डल, अजय र उपेन्द्रको अंश रोक्का गरी मुद्दा मुलतबीमा राखेको थियो ।

०७५ मङ्सिर ५ गते आरोपित मण्डल गिरफ्तार भएपछि तीन जनाविरूद्ध ०७५ मङ्सिर ७ गते अदालतमा मुलतबी जगाउँदै मुद्दा दायर भएको थियो । जिल्ला अदालतले ५० हजार धरौटीमा पुर्पक्षका लागि मण्डललाई रिहा गरेको थियो ।

बिष्णुपुर गाउँपालिका-५ बोरियास्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज नपा-६ स्थित घरतर्फ आइरहेका ई. देवलाई घर नजिकै आरोपितहरूले ०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरेका थिए । मृतक देव राष्ट्रिय सभाका सदस्य जितेन्द्रनारायण देवका दाजु हुन् ।

अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएका देवको शवलाई राजविराजस्थित अञ्चल अस्पतालमा ०६७ पुस १४ गते पोष्टमार्टम गरिएको थियो ।

मृतककी पत्नी मालती देवको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता गरी ०६७ पुस २६ गते जिल्ला अदालतमा दायर गरेको थियो ।

यसअघि गिरफ्तार भएका विष्णुपुर गाउँपालिका-५ बोरियाका २३ वर्षीय गङ्गाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा शम्भुनाथ नपा, मोहनपुरका २४ वर्षीय दिलजले भनिने उमेश राम र २४ वर्षीय देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्षकैद सजायको फैसला भएको थियो ।

जिल्ला अदालतको फैसलाविरूद्ध ०७२ असार १६ गते अनिलले र ०७२ साउन ६ गते गङ्गारामले पुनरावेदन गरेकोमा उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै ०७३ कात्तिक १० गते फैसला गरेको थियो ।


मनोहरकुमार पोखरेल