इञ्जिनियरमाथि वडा अध्यक्षद्वारा कुटपिट, आरोपितलाई कारबाही गर्न माग

  ०७५ जेठ ४ गते

आठबिसकोट नगरपालिका कार्यालयमा कार्यरत प्राविधिक शाखा प्रमुख इन्जिनियर ३० वर्षीय ठगेन्द्र चन्दलाई जेठ ३ गते सोही नपा-८ का वडाध्यक्ष ३२ वर्षीय मानबहादुर चदाराले कुटपिट गरी मार्ने धम्की दिएको पीडित पक्षको आरोप छ ।

दिउँसो कार्य कक्षमा काम गरिरहेको अवस्थामा वडाध्यक्ष र उनका ३० वर्षीय भाइ लोकेन्द्र चदाराले आफूलाई कुर्सीबाट तानेर कुटपिट गर्दै मार्ने धम्की दिएको इञ्जिनियर चन्दले आरोप लगाए ।

'आफ्नो जिम्मेवारीप्रति कटिबद्ध भई काम गरिरहेको अवस्थामा प्राविधिक शाखाका अन्य कर्मचारी र सेवाग्राहीको सामुन्नेमा हातपात गरेर वडाध्यक्षले गैरजिम्मेवार काम गर्नुभयो । जुन दुःखद, निन्दनीय र खेदजनक छ ।'-उनले भने ।

वडाअध्यक्षले एफएम रेडियोका लागि माग गरेको रुपियाँ अनुगमन गरेपछि दिने बताउँदा आफूलाई कुटपिट गरेको इञ्जिनियर चन्दले बताए । वडा अध्यक्ष चदाराका अनुसार घुस नदिँदासम्म इञ्जिनियरले काम नगरेपछि उक्त घटना भएको भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको नाममा जेठ ३ गते एक प्रेस विज्ञप्ति जारी भएको छ । 'नगरपालिका कार्यालयको बेइज्जत हुने गरी वडाध्यक्षले गरेको यस घटनाप्रति दुःख व्यक्त गर्दै वडाध्यक्षको यस कार्यले कर्मचारीमाथिको सुरक्षामासमेत प्रश्न खडा भएको छ ।'-विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वडाध्यक्षले इञ्जिनियरमाथि हातपात गरेको उक्त दृश्य सीसीटिभीमा कैद भएको भन्दै सोही प्रमाणका आधारमा आरोपितलाई कारबाही नगरेसम्म नगरपालिकाको काम ठप्प पार्ने कर्मचारीहरूले जनाएका छन् ।

जनताबाट निर्वाचित प्रतिनिधिको गुण्डागर्दी शैलीका विरूद्धमा साथ र सहयोगका लागि सबैलाई अपिल समेत विज्ञप्तिमार्फत गरिएको छ ।

दिनरात नभनी नगरपालिकाको समृद्धि र विकासको लागि इमान्दारी पूर्वक आफ्नो जिम्मेवारीमा कटिबद्ध कर्मचारीहरूको मनोवल गिराउने किसिमले अराजक शैलीमा भएको यस्ता कूकार्यहरू अक्षम्य हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।

इञ्जिनियर चन्दको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनले आठविसकोट नगरपालिकाको कार्यालयमा जेठ ३ गते उजुरी दिएको कार्यकारी अधिकृत रामबहादुर केसीले जानकारी दिए । अधिकृत केसीले भने-'समस्या समाधान नहुँदासम्म हामी आन्दोलनमा रहनेछौ ।'


मनिषा केसी