इज्जतका नाममा गोली हानी छोरीको हत्या

  ०७७ मङ्सिर १५ गते

माधवनारायण नपा–७ लौकाहाकी १७ वर्षीया अमृताकुमारी साहलाई कात्तिक २६ गते राति गोली हानी हत्या गरेको आरोपमा आमाबाबुसहित ६ जनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय रौतहटले मङ्सिर १४ गते सार्वजनिक गरेको छ ।

माइतीघरमा सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा सीतादेवी साह राति शौचालयतर्फ गएको बेलामा अपरिचित व्यक्ति घरमा पसी अमृताको टाउकोमा गोली प्रहार गरेका थिए ।

गोलीको आवाज सुनेर शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको मृतककी आमाको भनाइ रहेको छ  ।

सोही ठाउँका ३० वर्षीय थारु भन्ने सोसिन्द्रप्रसाद भगतसँग तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दबाबमा ०७६ फागुनमा सर्लाही जिल्लाको विष्णु गाउँपालिका–३ का रुपेश साहसँग मागी विवाह भएकोमा रुपेश साहमाथि छुरा प्रहार गरी ज्यान मार्ने समेतको आक्रमण भएपछि मृतक अमृताकुमारी साह माइती घरमा आएकी र ०७७ साल असारमा रुपेश साह र अमृताकुमारी साहबिच सम्बन्ध विच्छेद भएको थियो ।

सम्बन्ध विच्छेद भए पश्चात पति पक्षबाट मृतक अमृताकुमारी साह र सोसिन्द्रप्रसाद भगतमाथि ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्दा दर्ता भएको थियो ।

अमृताकुमारी र सोसिन्द्रबिचको प्रेम सम्बन्ध बाबुआमालाई स्वीकार्य नभएको र उक्त मुद्दामा छोरी गिरफ्तार भएमा इज्जत जाने डरका कारणले ५५ वर्षीय बुबा रामअयोध्या साह र देवाही गोनाही नपा–२ करुनिया लक्ष्मिनियाका मृतकका भिनाजु लक्ष्मण साहले परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साहलाई १ लाख ५० हजार रुपियाँ दिएर भारतमा लगि मार्ने योजना बनाएको पीडित पक्षको आरोप छ ।

सोही अनुरुप ०७७ कात्तिक ९ गते महानवमीका दिन बिहान अमृतालाई उपचारका लागि भारतमा लगेर मार्ने योजना असफल भएपछि ०७७ कात्तिक २६ गते मृतकका बुबा रामअयोध्या साह र भिनाजु लक्ष्मण साहले इज्जतका लागि पुनः अर्को योजना अनुरुप गोली हानी हत्या गर्न लगाएको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुरमा मङ्सिर १४ गते सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सिद्धिबिक्रम शाहले बताउनुभयो ।

घटनामा संलग्न रहेको आरोपमा मृतक अमृताको बुबा ५५ वर्षीय रामअयोध्या, आमा ५० वर्षीय सितादेवी साह, देवाही गोनाही नपा–२ का ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय इसलाम अन्सारी, सोही ठाउँका शेख ईम्ताज, परोहा नपा–४ का ४६ वर्षीय छोटेलालसहित ६ जनालाई जिल्ला अदालत रौतहटबाट ज्यानसम्बन्धी कुसुरमा मङ्सिर १४ गते सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको एसपी शाहले बताउनुभयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल गौरमा कात्तिक २७ भएको थियो ।


कोपिला तिमल्सिना